
गोरखामा पछिल्लो दुई महिनादेखि फैलिएको अफ्रिकन स्वाइन फिभरका कारण २५० भन्दा बढी सुँगुर–बङ्गुर मरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का विभिन्न फार्ममा संक्रमण पुष्टि भएको छ।

केन्द्र प्रमुख अनन्त कोइरालाका अनुसार गोरखा–६ का राजकुमार श्रेष्ठको फार्ममा ८०, जुना रेग्मीको फार्ममा १० तथा मान्द्रेढुङ्गाका धनकुमार गुरुङको फार्ममा ६० वटा बङ्गुर मरेका छन्। अन्य किसानका फार्ममा पनि संक्रमणका कारण क्षति पुगेको छ।

कार्यालयका अनुसार अफ्रिकन स्वाइन फिभरको हालसम्म न उपचार छ, न त प्रभावकारी खोप नै उपलब्ध छ। संक्रमित जनावर, दाना, औषधि वा मानिसको संसर्गबाट समेत रोग फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

संक्रमित सुँगुर–बङ्गुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा रातो धब्बा देखिने र करिब एक साताभित्र मर्ने लक्षण देखिने किसानहरूले बताएका छन्। अधिकारीहरूले संक्रमण फैलिन नदिन संक्रमित खोरबाट टाढा रहन र जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न सुझाव दिएका छन्।































