
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बुधबार बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ।

बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिसँगै जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादव, नेता महन्थ ठाकुर तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि आमन्त्रण गरिएको छ।

रास्वपा सभापतिको सचिवालयका अनुसार सुनसरीमा भएको संवेदनशील र दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई कायम राख्न राजनीतिक तहबाट साझा सन्देश आवश्यक भएकाले बैठक बोलाइएको हो।

सचिवालयले प्रशासनले शान्ति सुरक्षा कायम गर्न प्रयास गरिरहे पनि द्वेष र तनाव फैलिन नदिन सबै राजनीतिक दल एक ठाउँमा उभिएर संयम, सद्भाव र सामाजिक एकताको पक्षमा साझा अपिल गर्नुपर्ने आवश्यकता महसुस गरिएको जनाएको छ।































