
कैलालीमा वन अतिक्रमण हटाएको केही महिनामै पुनः संरचना ठडिए, ‘भाइरल’ टेम्पोको ठाउँमा अर्को टेम्पो पसल संचालनमा !
अत्तरियाः कैलालीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा चर्चामा आएको स्थानमै पुनः संरचना निर्माण गरी पसल सञ्चालन गरिएको पाइएको छ। केही महिनाअघि डिभिजन वन कार्यालयले भीमदत्त राजमार्ग आसपासका वन क्षेत्रमा अभियान चलाउँदै ४७ कच्ची तथा पक्की संरचना हटाएको थियो।

अभियानका क्रममा गोदावरी नगरपालिका–४ की धनादेवी धामीको टेम्पो कर्मचारीले धकेलेर भीरतर्फ पुर्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि अभियान नै विवादमा परेको थियो। अहिले उक्त स्थानमा फरक नम्बर प्लेटको अर्को टेम्पो देखिएको छ भने आसपास पसलसमेत सञ्चालनमा आएको स्थानीयले बताएका छन्।

यसअघि पनि अत्तरिया आसपासका क्षेत्र तथा डिभिजन वन कार्यालय कैलालीअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो। वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका कच्ची घर, टहरा तथा अन्य संरचनाले वन संरक्षण र जैविक विविधतामा नकारात्मक असर पार्दै आएको भन्दै अतिक्रमण हटाउनु आवश्यक रहेको ठाकुर बताउछन्।

गोदावरी नगरपालिका क्षेत्र भित्र नै अत्तरिया बजारको पूर्वी सडक, भ्यागुते पानी, बासपानी तथा गोदावरी आसपासका वन क्षेत्रमा पनि संरचना हटाइएको केही समयमै पुनः निर्माण हुन थालेको देखिएको छ।






























