SAMT Inter School Quiz Mania २०८३ सम्पन्न, सैनिक आवासीय महाविद्यालय तेघरी प्रथम

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति एवं सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली सञ्चालक समिति अध्यक्ष उपरथी पवन कुमार खत्रीले विद्यार्थीहरूको ज्ञान, प्रतिभा, तर्कशक्ति र आत्मविश्वास विकासका लागि क्विजजस्ता बौद्धिक प्रतियोगिताहरू महत्वपूर्ण हुने बताउनुभएको छ। उहाँले विद्यार्थीहरूलाई नियमित अध्ययनसँगै अतिरिक्त बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो।

CP Hospital Dhangadhi

सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीको आयोजनामा बुधबार SAMT Inter School Quiz Mania 2083 सम्पन्न गर्ने क्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उपरथी खत्रीले सहभागी विद्यार्थी तथा विद्यालयहरूलाई शुभकामना व्यक्त गर्नुभएको हो।

nawajiwan

कैलालीका २१ र कञ्चनपुर जिल्लाका १८ सामुदायिक तथा निजी विद्यालयका ३९ विद्यालयका ११७ जना विद्यार्थी सहभागी रहेको प्रतियोगिता विभिन्न चरण तथा राउन्डमा सञ्चालन गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक सैनिक आवासीय महाविद्यालय तेघरी, कैलाली प्रथम भएको छ। प्रथम भएको महाविद्यालयले नगद रु. १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसैगरी इन्टरनेसनल पब्लिक स्कुल, महेन्द्रनगर कञ्चनपुर द्वितीय भएको छ। उसले नगद रु. १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। मेधावी सेकेन्डरी स्कुल, कञ्चनपुर तृतीय हुँदै नगद रु. ५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।

कार्यक्रमको उद्घाटन कैलाली जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख जीवन न्यौपानेले गर्नुभएको थियो। मन्तव्यका क्रममा न्यौपानेले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने बताउँदै सहभागी सबै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, सहभागी विद्यार्थी र आमन्त्रित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।

Attariya Hospital

कार्यक्रममा सैनिक श्रीमती संघकी सल्लाहकार तथा समारोह उपसमिति सल्लाहकार कल्पना बुढाथोकी खत्री, चैतन्य पाठशालाका सीईओ गणेश प्रसाद जोशी, सत्यवती एकेडेमी अत्तरियाका सीईओ वीरबहादुर खन्डाई, एभरेस्ट एकेडेमी अत्तरियाका प्रिन्सिपल शिवराज जोशी लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक एवं सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीका ECA विभाग प्रमुख इन्द्रबहादुर सिंहले प्रतियोगिताको उद्देश्य, सहभागिता तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार विद्यार्थीहरूमा सामान्य ज्ञान, समसामयिक विषयवस्तु, तर्कशक्ति, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

कार्यक्रमको उद्घोष महाविद्यालयका शिक्षक खगेन्द्र प्रसाद कलौनीले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई निर्धारित कार्यतालिकाअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमको सभापतित्व सैनिक आवासीय महाविद्यालय तेघरी, कैलालीका प्रिन्सिपल श्री सिद्धेश्वर पन्त प्रकाशले गर्नुभएको थियो। उहाँले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी विद्यालय, विद्यार्थी, शिक्षक, अतिथि तथा आयोजक टोलीप्रति आभार व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो।

कार्यक्रम संयोजक इन्द्रबहादुर सिंहले प्रतियोगिताले कैलाली र कञ्चनपुरका विद्यालयबीच शैक्षिक तथा बौद्धिक सहकार्य, स्वस्थ प्रतिस्पर्धा र आपसी सम्बन्ध विस्तारमा योगदान पुर्‍याएको बताउनुभयो।