
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–११ ओलानीस्थित ग्वासी समैजी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो प्रशासनिक कार्यालय भवनको उद्घाटनसँगै विद्यार्थी तथा आमाहरूलाई सहयोग सामग्री वितरण गरेको छ।


सामुदायिक वनको कार्यालय परिसरमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष प्रेमसिंह बडैला, सामुदायिक वनका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, उपभोक्ता तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा सामुदायिक वन क्षेत्रअन्तर्गतका विद्यार्थीलाई आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको थियो। त्यसैगरी ‘सुनौलो १००० दिन’ अवधिका आमाहरूलाई पोषण प्रवर्द्धन गर्ने उद्देश्यले अण्डा वितरण गरिएको आयोजकले जनाएको छ। वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।



कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ११ का वडा अध्यक्ष प्रेमसिंह बडैलाले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र उपयोगमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले वनले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगले स्थानीय विद्यार्थी तथा परिवारलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा राखे।

त्यसै गरी गोदावारी नगरपालीका नगर प्रमुख बिरेन्द्र भट्टले सामुदायिक वनहरू केवल वन संरक्षण गर्ने संस्था मात्र नभई स्थानीय समुदायको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण साझेदार बन्नुपर्ने बताए। उनले शिक्षा, स्वास्थ्य, पोषण र वातावरण संरक्षणलाई जोडेर अघि बढ्ने सामुदायिक वनको पहल सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाबाट आवश्यक समन्वय र सहकार्य गरिने बताए। यस समुदायिक वनको विवाद लाई समाधानका लागि पनि काम अगाडी बढी रहेको जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेशबहादुर खड्काले वन संरक्षणसँगै उपभोक्ताको हित र समुदायको आवश्यकतालाई केन्द्रमा राखेर समूहले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको बताए। उनले प्रशासनिक भवन निर्माणपछि उपभोक्तालाई सेवा प्रवाह गर्न सहज हुने तथा वन व्यवस्थापनका गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने बताए।
अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समुदायको सहभागिता र सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।






























