बाल्यकालकाे (childhood) सम्झना :

Image
Nisarga Hospital

जीवनका ५० वसन्त पार गर्दैगर्दा कता कता मलाई विगतकाे झझल्काे आइरहेकाे छ । सायद झझल्काे त मानव जाति जाे काेहिलाई पनि आउँछ नै हाेला, तर मैले भने विगतका यादहरूलाई अक्षरहरूद्वारा सजाएर पाठक समक्ष पेश गर्ने गरेकाे यथार्थ त छदैछ । पाठकज्यूहरूले अघिल्लाे “बचपनकाे याद” भन्ने शीर्षकलाई मन पराएर धेरै लाइक र कमेन्ट सहित अरू थप कुराहरू लेख्नकाे लागि हाैंस्याएकाेमा पाठकहरूलाई साधुवाद एवम् नमन् गर्दछु ।

CP Hospital Dhangadhi

सर्वप्रथम त म स्व. आमा (गाैरी देवी धामी) काे बैकुण्ठ बासकाे कामना सहित श्रद्धासुमन अर्पण गर्दछु । सायद म कलिलाे उमेरमा नै मुले (टुहुराे) भएकाे भए पाठकहरूलाई मनका कुरा भन्न र हातमुख समेत जाेड्न गाह्राे हुन्थ्याे हाेला । जीवनकाे भाेगाईमा विभिन्न बाधा अड्चनहरूकाे सामना गरे भन्दा सबैले विश्वास गर्लान या नगर्लान् ।

Attariya Hospital

जीवनका विभिन्न ओकाली ओराली तथा घुम्तीहरु पारगर्दै यी माेडहरुमा जीवनलाई कतै ब्रेक त कतै मन्द गतिमा हाँक्दै जाने क्रममा आज फेरि एकचाेटी पछाडी फर्केर हेर्न मन लागिरहेकाे छ । कलिलाे फुच्चे उमेरमा कक्षा-१ मा पढ्दा काठकाे पाटीमा खरिले गुरुहरुले लेखि दिनु हुन्थ्याे र हामी निगालाकाे कलम द्वारा कमेराे (घर पाेत्न प्रयाेग गरिने सेताे माटाे) ले अक्षरहरु छाप्ने गर्थ्याैं । पाटीमा कमेराेले छापिएका अक्षरहरु अल्माेराे नामक हरियाे घास, जाैंकाे पात आदिले मेटाइन्थ्याे । पाटीलाई टलक्क टल्काउथ्याैं । कक्षा-२ देखि ५ कक्षा सम्म निगालाकाे कलम वा हाेल्डर पेनले कापीमा लेख्ने गरिन्थ्याे । मैले पनि कक्षा -३ (तीन) सम्म निगालाकाे कलम र गाेटा स्याही (मसी) ले लेखेकाे स्मरण छ ।

nawajiwan

त्यति बेला अहिलेकाे जस्ताे उज्यालाेकाे व्यवस्था थिएन । राती किताब पढनकाे लागि मट्टीतेलबाट बल्ने लैम्प प्रयाेग गरिन्थ्याे । मट्टीतेल पनि सहजै उपलब्ध हुदैनथ्याे । पैंसाकाे पनि निकै अभाव हुने गर्थ्याे । मट्टीतेलकाे जाेहाे गर्न नसकिएमा घिउमा दियाे बालेर पढ्ने गरिन्थ्याे । कतिपय समय त झाेराे (दियालाे) बालेर पनि पढिन्थ्याे । झाेराे बालेर पढ्नु पर्दा मेराे स्व. ईजा ( आमा) ले रातकाे १२:०० बजे सम्म पनि झाेराे सल्काई उज्यालाे बनाइ पढनमा सघाउनु हुन्थ्याे । मैले राती अबेर सम्म पढि रहदा उज्यालाे ननिभेकाे देखेर खुसुक्क बुवा मलाई हेर्न आउनु हुन्थ्याे । तर म पढि रहेकाे हुन्थे । धेरै रात भैसक्याे, सुत भनेर मायाले हकार्नु हुन्थ्याे । मायाले हकारेकाे म बुझ्ने भैसकेकाे थिए । मेरी ईजा (आमा) महान हुनु हुन्थ्याे । बुवाले हिउँदका लामा रातहरुमा रामायण पढ्नु हुन्थ्याे र ईजाले अर्थ्याउनु हुन्थ्याे । ईजालाई रामायणकाे राम्राे ज्ञान थियाे । रामायणका धेरै कुराहरु मैले ईजाबाट सिकेका कुराहरु अबिस्मरणीय छन् । राम, रावण, हनुमान, बाली र सुग्रिव, मन्थरा, सुपर्णखा, बिभिषण, दशरथ, कैकेयी, काैशिल्या, सुमित्रा, ऋषि विश्वामित्र आदिकाेबारेमा ईजाबाट राम्राे ज्ञान हासिल गरेकाे छु ।

कहिलेकाहीँ त भाेली पल्टकाे स्कुलकाे प्रतियाेगिता ( वादविवाद, हिज्जे, प्रवचन, राजाकाे जन्माेत्सव) काे लागि तयारी गर्दै गर्दा बिहान उज्यालाे भैसकेकाे पनि मानसपटलमा ताजा स्मरण नै छ । गाउँमा कुनै १/२ परिवार बाहेक प्राय: सबैकाे अवस्था दयनीय नै हुन्थ्याे । ओढ्ने ओछ्याउने देखि लत्ता कपडाकाे समेत अभाव हुन्थ्याे । यसरी बचपनलाई सम्झदै गर्दा त्यति बेलाकाे खानपान र रहनसहनलाई पनि जाेडन चाहे । त्यति बेला गाउँघर तिर रुपैयाँ पैसाकाे पनि निकै अभाव हुन्थ्याे । हुन पनि किन नहाेस त ! राेजगारधन्दा, व्यापार व्यावसाय केही थिएन । कहिं कतै सानाेतिनाे काम ज्याला मजदुरी गरेपनि न्यून पारिश्रमिक पाइन्थ्याे । प्रयः सबैकाे कृषि कार्य नै मुख्य पेशा हुन्थ्याे । घर परिवारका सबै मान्छेहरु कामकाे जिम्मेवारी बाँफाँड गरेर आ-आफ्नाे काममा तल्लिन हुन्थे । आय आर्जनकाे मुख्य स्राेत गाई भैंसीबाट उत्पादित घ्यू नै हुन्थ्याे । कसै कसैले थाेरै धान, गहुँ, मकै जस्ता अन्नबाली पनि बेचबिखन गर्ने गर्दथे ।

मलाई स्मरण छ ! प्राय: जसाे एक दुई किलाे घिउ कमै बेच्ने गर्दथे । यदाकदा जाैलजिबी मेलामा भने एक दुई किलाे घिउ लगेर मिठाई, ढिके नुन, मट्टीतेल आदि ल्याइन्थ्याे । त्यति बेला खानकाे लागि ढिके नुन नै प्रयाेग गरिन्थ्याे । घरमा नुन राख्ने सानाे भकारी हुन्थ्याे । अहिले पनि मेराे घरमा नुन राख्ने भकारी रहेकाे छ । मैले याे लेख लेख्दै गर्दा यहाँहरुलाई पक्कै पनि खुल्दुली लाग्न सक्छ कि याे लेख लेख्ने मान्छे ९०/१०० बर्षकाे बुढाे मान्छे हाेला भनेर ! तर म नातिनातिनीकाे हजुरबा भएपनि त्यति बुढाे मान्छे भने हाेईन है ! त्यति बेलाका मेराे स्कुले जीवनका राेचक प्रसङ्गहरु यहाँहरु समक्ष पेशगर्ने प्रयास भने पक्कै गर्नेछु । गाई भैंसीबाट उत्पादित घिउ चाहीं टीनबाट निर्मित चाैथाई, अद्दी र कन्टरमा हालेर सिल लगाइन्थ्याे । त्यस ताका घिउकाे मूल्य एक दमै न्यून हुन्थ्याे । घिउ बेचेर आएकाे पैंसा बाट जहान परिवारकाे लागि लत्ताकपडा, नुन, तेल आदि ल्याइन्थ्याे । त्यति बेला वर्षकाे दुई चाेटीमात्र घर परिवारकाे लागि लुगा कपडा ल्याउने चलन थियाे । जाैलजिबीकाे भारतीय बजारमा कपडाका पसलहरु धेरै भए पनि कपडा किन्ने पसलकाे आडती (साथी/पसले) एउटै हुन्थ्याे । घिउ बेचेर प्राप्त भएकाे पैंसाबाट कपडा पसलेकाे पुरानाे हिसाब चुक्ता गरि नयाँ कपडा किन्दा उधाराे लेखेर आउँथे ।

धेरै जसाेकाे घरमा त वर्ष भरि खान पुग्ने अन्न पनि फल्दैनथ्याे । बेसा (अरु बाट किन्ने) गर्नु पर्ने हुन्थ्याे । बेसा गर्नु भनेकाे त्यति बेलाकाे बडाे लाज मर्दाे कुरा हुन्थ्याे । गाई भैंसीबाट उत्पादित दुध बिक्री गर्न बजारीकरण भैसकेकाे थिएन । हुन पनि हाे, सबैकाे घरमा गाई भैंसी भए पछि दुध कस्ले किन्ने ? लाेभ गरेर बचाएकाे घिउकाे पनि मूल्य न्यून हुने र त्याे पनि बिक्री गर्नकाे लगि घरबाट अढाई तीन घण्टा हिडेर जाैलजिबी, अस्काेट तथा साेर (पिथाैरागढ) बजार सम्म पुगाउनु पर्थ्याे ।

त्यति बेला अहिलेका बच्चाहरुकाे लागि जस्ताे टिफिन (खाजा) बाेक्ने ब्यवस्था थिएन । बिहान ९:०० बजे देखि दिउँसाे ४:३०-५-०० बजे सम्म भाेकले रन्थनिएर घरमा पुग्थ्याैं र खाना खाईपटि (खाएर) गीन (पुरानाे कपडा द्वारा निर्मित बल) खेल्न, राउण्ड टाईम, एथलेटिक्स, मुर्गाझपट ( दुबै हात पछाडी बाँधेर एक खुट्टा टेकि कुमले घचट्ने खेल), लाेडेमार, पिठ्ठु ( पाँच वटा गाेलाे ढुङ्गालाई पट्याई गीनले हिर्काउने खेल), लुकामारी, मुसा बिरालाे तथा कहिले काहीँ बाैद्धिक खेलहरु- शब्दार्थ (word meaning), गणित दाैड, चेस, बाघचाल आदि खेलहरु खेल्न जान्थ्याैं । यसरी साथीहरु संग खेल्दा बडाे आनन्दकाे अनुभूति हुन्थ्याे । खेलेर घरमा आई सकेपछि फाेंलाे (तामाकाे गाग्राे) बाेकेर टाढा पँधेराेबाट २/३ फाेंला पानी ल्याउनु पर्थ्याे । अहिलेकाे जस्ताे घर घरमा पानीका धारा थिएनन् । साँझ चुल्हाेमा आगाे बाल्न झाेराे दरुँवा (दाउरा) काे जाेहाे गर्ने काममा सघाउनु पर्थ्याे । नुहाई धुवाई गर्न बास्ना आउने साबुन लिरिल, लक्स, मायालु साबुनकाे पनि अभाव रहन्थ्याे र पुजा साबुन, फरिस्ता साबुनले नै भए पनि काम चलाउनु पर्थ्याे कहिले काहीँ त । च्युउरीकाे पिना, ओखलमा रिठा कुटेर पुरानाे कपडाकाे काताे (टुक्रा) मा पुन्तराे बनाई कपडा धुन प्रयाेग गरिन्थ्याे त्यस ताका।

प्रसंग बदल्ने मन लाग्याे । कक्षा १ देखि ५ सम्म अहिलेकाे जस्तै प्राथमिक तह, कक्षा ६ र ७ नि.मा.बि. तह मानिन्थ्याे । कक्षा -७ मा बाेर्ड परीक्षा हुन्थ्याे। नि. मा. बि. तहमा अजन्ता (Ajanta pen) फाैनटिन (कलम) ले लेख्ने गर्थ्याैं । कक्षा -८ देखि १० सम्म माध्यमिक तह मानिन्थ्याे । हाईस्कूलमा पुगे पछि चाईनिज कलम र चेलपार्क स्याही (मसि) ले लेखिन्थ्याे। अक्षर अति सुन्दर बनाउने प्रयास गर्थ्याैं । अक्षर राम्राे बनाउने प्रतिस्पर्धा नै हुने गर्थ्याे साथीहरुकाे माझमा । पढाईमा धेरै मिहिनेत गरिन्थ्याे । आफ्नाे सुत्ने काेठाकाे भित्ता (उठदा, बस्दा, सुत्दा खेरि नजर पर्ने ठाउँ) मा गणितका सूत्रहरु, अंग्रेजी र बिज्ञानका महत्वपूर्ण कण्ठस्थ गर्नु पर्ने कुराहरु टाढै बाट स्पष्ट देखिने गरि माटाेकाे गाराेकाे भित्तामा गहुँकाे पिठाे द्वारा निर्मित गुँद (गम) ले टाँस्ने (चिप्काउने) गर्थे । पढ्ने, लेख्ने, खेल्ने, मनाेरञ्जन गर्ने, खाने, सुत्ने समय तालिका बनाएर साेहि भिततामा टाँसेकाे हुन्थे । यसरी समय सारणीकाे आधारमा मेराे दैनिकी चलेकाे थियाे।

शनिबार बिद्यालय छुट्टी भएकाे दिन वनमा गाईवसतु, बाख्रा चराउन जानू पर्ने अनिवार्यता जस्तै हुन्थ्याे । वनमा पनि हातमा किताब बाेकेर गईन्थ्याे र फुर्सदकाे बेला किताब नै पढ्ने गर्दथे । जति अध्ययन गरे पनि किताबकाे किराे भने थिएन म ! अझ महत्वपूर्ण कुरा त भन्नै बिर्से छु । मैले पढ्ने बेलामा कैपिटल बाैण्ड कापी हुन्थे । उक्त कापीलाई ठिक बीच भागबाट ब्लेड (पत्ती) ले काटेर दुईवटा सानाे डायरी जस्ताे बनाईन्थ्याे । उक्त डायरीमा परीक्षामा आउन सक्ने महत्वपूर्ण कुराहरु लेखिन्थ्याे । सबै बिषयकाे नाेट कापी बनाउँथे।

स्कूलकाे हाफटाईम (Interval) मा हामी ४/५ जना साथीहरु खेल्न नगएर कक्षा काेठामा गणित र अंग्रेजी ग्रामर सम्बन्धी कुराहरुमा छलफल गर्थ्याैं । सरहरु र साथीहरुकाे माझमा म पनि एक अब्बल पढ्ने जान्ने बिद्यार्थीमा गनिएकाे थिए र थप हाैंसलाका साथ घरमा राती लैम्प, दियाे वा झाेराे बालेर भए पनि अबेर सम्म लेख्ने पढ्ने गरिन्थ्याे । एस. एल. सी. मा कक्षा ९ र १० बाट संयुक्त प्रश्नहरु साेधिन्थे । SLC पास गर्न अति कठिन हुन्थ्याे । जाे काेहि पास हुदैनथे । कठिन परिश्रमले गर्दा मैले सफलता पनि हासिल गरे । त्यति बेलाकाे गाेल्डेन गेट मानिने SLC पास गरे पछि आमाबुवा, घरपरिवारका मान्छे, आफन्तजन र ईष्टमित्र सबै खुशी भए र मलाई स्याबासी दिएर थप हाैंसला प्रदान गरे । तत्पश्चात म आई. एस्सी. (I.Sc.) पढ्न GIC जाैलजिबी भारत तिर लागे । अहिलेका बाबु नानीहरुकाे चाला देखेर, किन हाे किन कुन्नी ! उराठ लागेर आउछ। बाँकि गन्थन अर्काेमा… यहाँ हरुबाट थप हाैंसला पाएमा बिगतका अनुभवहरु सेयर गर्ने नै छु।

आज मलाई एकजना बचपनका साथी जनै हराकाे बाहुन (अंकल) ले केहि कुरा लेख्नकाेलागि हाैंस्याएकाे छ । उहाँकै शब्दमा – “जाेलजिबी सुन्तला बेच्न गएकाे, मट्टितेल किन्दाका व्यथा, मिश्री, नुन, कापी, ऐजन्ता कलम, सावुनका डल्ला समेत किनी ल्याउदाकाे भारी चार घण्टाकाे उकालाे आदिका विषयमा गहन लेख लेख्न अनुराेध गरे है प्रिय भतिज मानसिह” !

हाम्राे गाउँ गाेठ्युठी र भाैनबाटामा उतिबेला सुन्तला धेरै फल्ने गर्दथे । गाउँबाट नजिककाे बजार भनेकाे जाैलजिबी नै थियाे । गाउँका मानिसहरू (महिला/पुरुष) बिहान ३:३०-४:०० बजेतिर टर्चलाइट वा झाेराेकाे उज्यालाे बालेर सुनतलाका डाेकाहरू पिठ्युमा बाेकेर अढाई तीनघण्टा हिडेर हतार हतारमा जाैलजिबी (भारत) स्टेसनमा जाने गर्दथे । मेराेपनि आफ्नै घरमा करिब ५०/६० डाेका सुन्तला हुन्थे । ससनतलाकाे त्यतिबेला खासै बजार भाउ थिएन । २०४५/०४६ सालतिरकाे कुरा हाे, एकडाेका सुन्तलाकाे मूल्य मुस्किलले ५०/६० रुपैयाँ भारु हुन्थ्याे । मेराे घरमा त प्राय: सुन्तला ठेक्कामा न‌ै दिने गर्दथे । गाउँका नवतन्नेरी साथीसङ्गीहरू डाेकाे बाेकेर सुन्तला बेच्न गएपनि मैले भने सुन्तलाकाे डाेकाे बाेकेकाे छैन । सुन्तला बेचेकाे पनि छैन । अहिले हाम्राे गाेठ्युडी गाउँमा सुन्तलाका रुखहरू छैनन् । मर्नै लागेका ४/६ वटा रुखहरू मेराे घरमा अहिले पनि छन् ।

त्यसताका मट्टीतेल ३ रुपैयाँ भारु प्रति लिटर पाइन्थ्याे । कन्ट्रोलमा सहजै मट्टीतेल उपलब्ध हुदैनथ्यो । हाम्राे कपडाकाे आडती ‘निरन्तर सेट’ थिए । निरन्तर सेटकि धर्मपत्नी (आण्टी) ले मलाई धेरै माया गर्नु हुन्थ्यो । कन्ट्रोलमा मट्टीतेल नपाएमा आण्टीले ५ लिटर जति मट्टीतेल दिनु हुन्थ्यो । उहाँ अहिले याे धर्तीमा हुनु हुन्न । आण्टीकाे बैकुण्ठ बासकाे कामना गर्दछु । जाैलजिबीबाट घर फर्कदा हामीहरू एकदुई किलाे मिश्री, ढिके नुन, कैपिटल बाैण्ड कापी, अजन्ता कलम, फरिस्ता साबुन आदि सरसामानहरू लिएर धरमपानीकाे करिब एक घण्टाकाे उकालाेमा पसिना पुछ्दै, स्याँस्याँ गर्दै उकालाे पार गर्थ्याैं । मलाई याे लेख लेख्न उत्साहित गर्नु हुने नाताले अंकल (लिलाधर) अनि साथीपनि जनै हराकाे बाहुनलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु । धन्यवाद !

मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गाेठ्युडी, काेटबुङा
दार्चुला