दार्चुलाकाे हुनैनाथ बाजस्थानकाे महिमा र गाेठ्युडी गाउँकाे चिनारी

Image
Nisarga Hospital

मान सिंह धामी : सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडीमा हुनैनाथ बाजस्थान मन्दिर अवस्थित छ । वरदानी ढाेकाकाे नामले चर्चित हुनैनाथ कसैकाे संरक्षणकाे पर्खाइमा रहेका बेला पर्खेकाे मान्छेहरूले कुनै पर्वाह नगर्दा हुन्शिखर दु:खी भएकाे कुरा महसुस गरिएकाे छ । कुरा यथार्थ हाे है ! सायद म बढी आध्यात्मिक भएर हाेकि ! यसकाे अर्थ अन्यथा नलागेर जनता रिसाएका भन्ने बुझ्नु पर्दछ । यस आर्थिक वर्ष २०७९/०८० मा संघ, प्रदेश वा स्थानीय तहबाट उक्त मन्दिर गाउँमा कुनै एक याेजना सम्म पनि नपर्नु बिडम्बना नै भन्नु पर्दछ । दुःखमा वन्दना, सुखमा हुनैनाथलाई बिर्सिएमा हुनैनाथ स्वामीले ईच्छित फल देलान त ! हुन्शिखर जुन नामले पुकारे पनि शिव रुप नै हुन् । काठमाण्डाैमा पशुपतिनाथ मन्दिर शिवजीकाे मूल मन्दिर भए पनि नेपालका विभिन्न ठाउँहरूमा शिव, पशुपति मन्दिरहरू रहेका छन् ।

CP Hospital Dhangadhi

शिव महादेवका नाम र रुप अनेक भए झैं हुन्शिखर पनि एक हाे । हुन्शिखरका पनि अनेक नामहरू मध्ये हुनैनाथ, हुष्कर, गाेल्जु देवता आदि नामहरू रहेका छन् । हुन्शिखरकाे मूल वासस्थान औतालेक भए पनि शिव ज्याेतिर्लिङ्गकाे एक हिस्सा गाेठ्युडी बाजस्थानमा प्राचीनकालमा देखापरि पूर्वजहरूले उक्त ज्याेतिर्लिङ्गकाे महिमा तथा वरदान र अदभूत शक्ति देखेर आफूहरू प्रफुल्ल भई साेहि दिनदेखि उक्त लिङ्गकाे धूप,दीप, फूल, अक्षता, चन्दन सहित पूजापाठ गर्दा मन्दिर समेत चमत्कारिकरुपमा निर्माण भएकाे कुरा जनश्रुतिमा आधारित छ । दाैल सिंह भाट (धामी) मा देव वाणीभई हुन्शिखरकाे ज्याेतिर्लिङ्ग बाजस्थानमा फेला परेकाे र साेही दिनदेखि धूप,दीप सहित उक्त लिङ्गकाे पूजन गर्न थालिएकाे हाे भनेर गाउँका बुढापाका जानकारहरू बताउने गर्दछन । हुनैनाथ बाजस्थानमा हुनैनाथकाे ज्याेतिर्लिङ्ग नै हाे । अनजानमा कसैले बालीचन देवताकाे मन्दिर बुझे पनि बाजस्थान हुन्शिखर मन्दिर नै भएकाे व्यहाेरा अनुराेध गर्न चाहे । साथै मन्दिरपनि चमत्कारिक रुपमा निर्माण भएकाे जनश्रुति रहेकाे छ । हुनैनाथ बाजस्थान मन्दिरलाई बरदानी ढाेका पनि भनिन्छ । चाेखाेभाेकाेभई तनमनले बाजस्थानकाे आराधना गरेमा वा पूजापाठ गरेमा नि:सन्तानलाई सन्तान, निर्धनीलाई धन लाभहुने, सत्रु क्षयहुने जनविश्वास रहेकाे छ । हुनैनाथ स्वामीकाे जप ध्यान गर्नाले मनले चिताएकाे कुरा पुरा हुने जनविश्वास रहेकाे छ ।

वि. सं. २०४०/०४१ सालमा गाउँका भद्रभलादमी, समाजसेवी, शिक्षाप्रेमी तथा समाजका अगुवाहरूकाे सक्रियतामा मन्दिरकाे जिर्णाेद्वार भएकाे कुरा मलाई पनि सम्झना छ । यस मन्दिरमा प्रत्येक वर्ष हरेक धार्मिक कार्यहरू गाेंरा, खेडी, जात्रा, नवरात्र, न्वाकी चढाउने, हरेलाे चढाउने, विभिन्न भाकल स्परुप पूजापाठ हुने गर्दछन् । यसरी मैले हुनैनाथ बाजस्थान मन्दिरकाे बेलीविस्तार लगाउँदै गर्दा यस मन्दिरकाे भाैगाेलिक अवस्थिति वर्णन नगर्दा याे लेखनै अधुराे हुने सम्झेर थाेरै भएपनि समेट्ने प्रयास गरेकाे छु । याे मन्दिर पूर्व दक्षिण हुनैनाथ औतालेक मन्दिर टाैटाक देखिन्छ । याे ठाउँमा बाज एक प्रजाति वनस्पतिले मन्दिरलाई चारैतिरबाट घेरेकाे हुनाले बाजस्थान भएकाे हुनु पर्दछ भन्ने ठम्याई रहेकाे छ । यस मन्दिरकाे पारिपट्टी पूर्वमा रानी पातल रहेकाे छ । उत्तर माथि सिरानमा अवस्थी ब्राह्मण र भाैनबाटीहरूकाे वस्ती रहेकाे छ । जातले ब्राह्मण जस्तै नाम र कामले पनि ब्राह्मणहरू निकै सभ्य, संस्कारी, शिक्षित, सहयाेगी र मिलानसार पनि छन् । गाउँमा अवस्थी ब्राह्मण र भाैनबाटी धामीहरूकाे बिचमा राम्राे मेलमिलाप तथा सहयाेग आदान प्रदान हुने गरेकाे छ । यस मन्दिरकाे दक्षिण पारिपट्टी औल्लेक गुरुम, क्यासिर, सिलाजाे, टाटिक, ओजिगाड लगायतका गाउँहरू रहेका छन् । मन्दिरकाे पश्चिम पारिपट्टी रताेडा, मालान, चाेल्थी लगायतका गाउँहरू रहेका छन् ।

nawajiwan

श्री हुाैनाथ छिप्लकेदार र भागाश्रीकाे काेखबाट अवतार भएकाे कुरा विभिन्न आख्यान, श्रुति, किम्बदन्ति र भक्तिगाथा तथा झाेडाे, फाग, सगुन आदिबाट पुष्टि हुन्छ । दाेभाषे कुरा गर्दा पाठकहरुकाे मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हाे आफूलाई पाठककाे रुपमा हेर्दा । हुनैनाथकाे उत्पत्ति सम्बन्धी केही राेचक प्रसंगहरु मैले हुनैनाथकाे महिमा र औतालेकीहरूकाे संक्षिप्त वंशावलीमा उल्लेख गरिसकेको छु ।

Attariya Hospital

यस मन्दिरमा विभिन्न पर्वहरू जात, गाेंरा आदिमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल (विगल), मुर्तिहरू, भाकल सहितका केही मुर्तिकाे साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलकाे संगीतमय धुनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन् । मन्दिरमा जात, गाेंरा लगायतका महत्त्वपूर्ण चाडपर्वहरूमा भाैनबाटा भणारी घरबाट देवताकाे गहना स्वरुप छात, छडी, डाेली, तापदानी, चाैरीगाईकाे पूछ, भाेकर, भाला, विभिन्न मुर्तिहरू, दमाहा, रेशम वस्त्र, कुणी, पगरी, पानस, विगुल, झ्याली, शंख, गडुवा आदि पूजन सामग्रीहरू दमाहा, झ्याली, विगुल, शंखकाे संगीतमय धुनमा मन्दिरमा लगिन्छ ।

गाेठ्युडी गाउँकाे चिनारी :
मान सिंह धामी (भाैनबाटी) : म हुनैनाथकाे बासिन्दा औल्लेकी नै भएपनि गाेठ्युडी गाउँमा बसाेबास भएकाेले गाेठ्युडी गाउँकाे संक्षिप्त चिनारी पाठकहरूमाझ संप्रेषणगर्नु बान्छनीय देखिन्छ । गाेठ्युडी गाउँ हुनैनाथकाे आधा हिस्सा हाे । गाेठ्युडी गाउँकाे चिनारी लेख्दैगर्दा गाेठ्युडी नाम कसरी रहन गयाे भन्ने कुरा उल्लेख नगरिएमा याे लेख नै अधुराे हुने बुझाईले यस गाउँकाे शाब्दिक अर्थ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । प्राचीन कालमा मानिसहरू गाउँकाे टुप्पाे लेकमा गाईभैंसीकाे गाेठ कुँडाे बनाउने गर्दथे । यहाँ गाेठ भन्नाले गाईभैंसी बाँध्ने ठाउँ र कुँडाे भन्नाले गाईभैंसीलाई खुवाउने पानी, घास पराल हुन्छ । मानिसहरू गाेठकुँडी/कुँडाेबाट आएकाे भन्ने गर्दथे । गाेठकुँडी शब्द अपभ्रंश भएर गाेठ्युडी भएकाे हाे । गाेठ्युडी गाउँले व्यापक क्षेत्रफल ओगटेको छ । हाम्राे वंशावलीलाई आधार मानेर चर्चा गर्दा किडेका माहिलो छाेरा बजुरेका सन्तानहरू र एक हाँगा बुबुराठलाई गाेठ्युड्या भन्ने गर्दछन् ।

गाेठ्युडी अन्तर्गतका गाउँहरू भैंसेबाटा, दाेसल्ली, मालान, चाेल्थी, ओजीगाड, मलबाब, सनेडा, सिन्याडी, जाेशीगाउँ, रिठामा, चलघर, भुरभुरे, तल्ली भाैनबाटा, च्यूरी, फेरमा, ओदले, मजाडाँडा, माैवाडी, मसाड, भाैनबाटा, लेक, ऐरीछाना, सिराड, दुबाचाैड लगायतका गाउँहरू पर्दछन् । यसका अलावा अवस्थीहरूकाे बस्ती गाेठ्युडी अन्तर्गत नानीखाली, भैंराडी, छाना, ठुलीखाली, गडानी रहेकाछन् । बजुरे (जगते र फाैंरेका पिता) र एकभाइ बुबुराठकाे कुरा गरिएपनि बाहेक गाेठ्युडी गाउँमा लुहार, पार्की, दमाई, ओझा, अवस्थी, खत्री र हामी औल्लेकी धामीहरूकाे बसाेबास रहेकाे छ । गाेठ्युडी गाउँ र औल्लेक गाउँकाे तुलनागर्दा भाैगाेलिक र जनसाङ्ख्यिक हिसाबले बराबर नै हाेला । हुनैनाथमा बस्ने र अरु बाहिरका मान्छेहरूले पनि ऐरीछाना बासीलाईपनि गाेठ्युडे भन्नेहुँदा ऐरीछानालाई पनि यस लेखमा गाेठ्युडी गाउँअन्तर्गत राखिएकाे छ । यस गाउँका मानिसहरू विभिन्न पेशा व्यावसाय डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियर, शिक्षक, राष्ट्र सेवक निजामती कर्मचारी, सेना, प्रहरी, औषधि व्यावसायी, व्यापारी, कृषक तथा काेही अमेरिका र अन्य वैदेशिक राेजगारीमा पनि संलग्न रहेका छन् ।
हुनैनाथ स्वामीले हामी सबैकाे कल्याण गरून् । जय हुनैनाथ !! धन्यवाद !

मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :-
मालिकार्जुन गाउँपालिका हुनैनाथ -४
गाेठ्युडी, दार्चुला
स्राेत :
– पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास,
महेन्द्रनगर ।
– जिल्ला प्रशासन कार्यालय दार्चुला वेभ साइट ।
– गुगल र अन्य सामाजिक सञ्जाल ।
– पाण्डेय, बद्रीदत्त (२०२२), कुमाऊँ का इतिहास, भारत । – फाेटाे : चन्द्र धामी