
नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज बिस वर्ष मुनिको साफ च्याम्पियनमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।

पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ। नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न लागेको हो।
सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो। सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो।


नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले मङ्गलबार फाइनलअघिको पत्रकार सम्मेलनमा फाइनल खेल्ने दुवै टिम राम्रो भएकाले खेल प्रतिस्पर्धात्मक हुने बताए। “बङ्गलादेशले गत विजेता भारतलाई हराएर फाइनलमा स्थान बनाएको छ। त्यसैले बङ्गलादेशले उच्च
मनोबलमा खेल्ने छ तर हामी तयार छौँ। हाम्रो लक्ष्य उपाधि जित्नु हो र खेलाडीले रणनीतिअनुरूप खेलेमा हाम्रो जित पक्का छ,” प्रशिक्षक श्रेष्ठले भने। यस प्रतियोगितामा नेपाल र बङ्गलादेश एकै समूहमा परेका थिए। समूह चरणमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको थियो।
उनले फाइनलमा पनि बङ्गलादेशलाई हराएर उपाधि जितेर घरेलु समर्थकलाई खुसी पार्ने बताए। यस प्रतियोगिताको फाइनल दशरथ रङ्गशालामा हुने तय गरिएको थियो तर लगातार पानी परेकाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फाइनल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ। यसमा घरेलु टिमका प्रशिक्षक श्रेष्ठ खुसी छन्। “यसै मैदानमा हामीले विगत लामो समयदेखि प्रशिक्षण गरेका छौँ । त्यसैले एन्फा मैदानमा खेल्दा हामीलाई सहज हुने छ। दशरथ रङ्गशालामा फाइनल भएको भए हजारौँ दर्शकको समर्थन पाइन्थ्यो तर सो मैदानमा खेल्ने अवसर नपाएकाले स्वाभाविक प्रदर्शन हुन नसक्ने डर पनि उत्तिकै हुन्थ्यो,” प्रशिक्षक श्रेष्ठको भनाइ छ।






























