
व्यक्तित्व परिचय:
दार्चुला जिल्लाको तत्कालिन मालिकार्जुन गाउँ विकास समिति वडा नम्बर – ९( घट्ट ) मा पिता बहादुर सिंह धामी र माता मोतिदेबी धामीको कोखबाट बि. सं . २००९ साल भाद्र २९ गते सामान्य किसान परिवारमा स्व. प्रेमसिंह धामीको जन्म भएको थियो ।
उहाँको बाल्यकाल निकै दुख ,कष्ट र आर्थिक अभावको बीच बाटै न्याय र संघर्षशिल जिबनका पक्षमा लागेर अगाडी बढ्यो । शंकरपुर हाइस्कुल पस्तीमा कक्षा ९ मै पढदा गुरु दयाकृष्ण पन्त मार्फत मार्क्सवादी र बामपंथी बिचारधारा बाट प्रभावित उहाँ पढाईको उचित व्यवस्था को माग गरेकै भरमा तत्कालीन बिद्यालय संचालक समिति बाट पढाइमा प्रतिबन्धित लगाईयो । त्यसपछि गोकुलेश्वर मा.वि.मा भर्ना भई एस एल सी उतिर्ण गरे । तत्कालीन परिस्थितिमा अध्यन अगाडि बढाउन कठिन हुदाहुदै पनि कलेजअफ एजुकेसन ( दुर्गमका विद्यार्थी हरुलाइ दिइने मासिक रु१०० ) को सुबिधा लिन सफल भई बिरगंजमा I .Ed. मा भर्ना भएर पढाई अगाडि बढाए । सोही दौरानमा अनेरास्ववियुको सम्पर्कमा आइ वि.स. २०२८ सालमा पर्सा जिल्ला कमिटीको सदस्य समेत बन्न पुग्नु भयो । पढाई पश्चात् वहाँले प्रथमिक बिद्यालय निरीक्षक भई काम गर्नुभयो । सो अवधिमा पनि वामपंथी राजनीति लाई नजिक बाट नियाल्नु भएका वहाँ सुदुरपश्चिम क्षेत्रको कला, संस्कृति र साहित्यका क्षेत्रको विकासमा पनि उत्तिकै सकृय हुनुहुन्थ्यो । यो क्षेत्रको विकासका बारेमा अर्जुन बियोगी, बासुदेब भट्ट ” भाइसाव” लगायत साहित्य र संस्कृति प्रेमीहरु संग उहाँको घण्टौ गफगाफ हुन्थ्यो । बालक ,युवायुवती ,समकक्षी र आफुभन्दा पाका सबैसंग समान सरल र सहृदयी व्यवहार उहाँमा रहेको जानकारहरूले बताउने गरेका छन् । उहाँले एकपटक सम्पर्कमा आएका व्यक्ति लाई कहिल्यै नबिर्सने तिक्ष्ण र विलक्षण स्मरण शक्ति वहाँमा थियो ।

पुर्णकालिन राजनीतिक सक्रियता:
सादा र ग्रामीण जीवनशैली रुचाउने धामी , २०४६ सालको आन्दोलन पछि शिक्षा सेवाको विद्यालय निरीक्षकको जागिर छोडी पुर्णकालिन राजनीतिमा होमिनु भयो ।
उहाँ वि.स.२०४७ मा नेकपा ( माले) को कंचनपुर जिल्ला कमिटी सचीव भई माले मार्क्सवादी एकीकरण पछि पनि एमाले जिल्ला संगठन कमिटी को सचीव भएर काम गर्नु भयो ।
वि.स.२०४८ सालको आमनिर्वाचनमा कंचनपुर क्षेत्र नं. २ बाट एमाले उम्मेद्बार भइ सम्मान जनक (९८०२) मत प्राप्त गर्नुभयो.।
वि.स. २०४८ मै राष्ट्र र राष्ट्रियताप्रतिको चट्टानी अडान र समर्पणभाव बाट प्रभावित भै तत्कालीन महासचिव मदन भण्डारीको पहलमा एमाले बाट राष्ट्रियसभामा निर्वाचित हुनु भयो ।
वि.स.२०४९ मा सम्पन्न एमालेको पाचौं राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनु भयो ।
वि.स.२०५१ मा भएको मध्यावधि निर्वाचनमा दार्चुलावाट तत्कालीन सहायक मन्त्री दिलेन्द्र प्रसाद बडु लाई (४०९७ मतान्तर ले) पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई दार्चुलाबाट पहिलो निर्वाचित कम्युनिष्ट नेताका रूपमा आफुलाई स्थापित गरे ।
वि.स.२०५१ मंसिर मा गठित एमालेको नौ महिने सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्री ( बिभागिय प्रमुख )भई काम गर्नु भयो ।
देशमा माओवादीले सशस्त्र द्वन्द्व शुरू गरे पछि माओवादी समस्या समाधान आयोगका अध्यक्ष (संयोजक) भई काम गर्नु भयो ।

राष्ट्रिय राजनीति, देश र जनताको लागि योगदान :
प्रेमसिंह धामीको देशभक्त र राष्ट्रवादी भावनाबाट प्रभावित पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी राष्ट्रियताका महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्नु पर्दा वहाँलाई अनिवार्य सहभागी गराउनु हुन्थ्यो ।
नेपाली भुमी कालापानीमा भारतीय सैनिक पोस्ट रहेको , सो कुरा एक स्वतन्त्र मुलुकको सार्बभौमसत्ता र अखण्डता बिपरित भएकोले तुरुन्त हटाउन पहिलोपटक संसदमा आवाज बुलन्द गर्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । त्यसपछि मात्रै राजनीतिक दल ,नेता, बुद्धिजीवी ,नागरिकसमाज र पत्रकारहरु पनि सीमा अतिक्रमणको बारेमा सुसूचित भए र यो विषय प्रचारित भयो ।(यद्यपि पंचायतकालमै तत्कालीन राष्ट्रिय पंचायत सदस्य माननीय बहादुर्सिंह ऐतवालले पनि यो कुरा उठाउनु भएको थियो भनिन्छ । जुन त्यति प्रचारमा आउन सकेन ।) उहाँले त्यतिबेला उठाउनु भएको विदेशी हस्तक्षेप बिरुद्धको आवाज लाई नै आधार बनाएर आजका राजनीतिक दल र नेताहरूले चुनावी एजेन्डा र सत्तामा पुग्ने भर्याङ बनाउने गरेका छ्न । तर उहाँको सपना साकार पार्न मन ,वचन र कर्मले लाग्ने सच्चा देशभक्त दल/ नेता को अभाव भने वर्तमानमा समेत खड्किएको छ ।
-देशभक्ति र राष्ट्रियता को सवालमा
वि.स.२०४८ सालमै तत्कालीन प्रधानमन्त्रीले भारत भ्रमणका बेला टनकपुर सन्धि गरेपछि धामी लगायतका केहि राष्ट्रवादी नेताहरूले टनकपुरमा राष्ट्रघाँत भएको भन्दै देशभक्त शक्तिले सडक र सदनमा तत्कालीन सरकारले गरेको उक्त कदमको कडा प्रतिवाद गरे । जसको नेतृत्वदायी भुमिकामा धामी थिए । उनकै नेतृत्वमा महाकाली हक संरक्षण समितिको गठन गरि राष्ट्रियताको आन्दोलन अझ सुदृढ पार्ने काम भयो । उक्त समितिकै आयोजनामा भारतीय प्रधानमन्त्री पि वि नरसिंह राव नेपाल भ्रमणमा आएको बेला टनकपुरमा भएको असमान सन्धीको बिरोधमा ज्ञापनपत्र बुझाउन टनकपुर देखि काठमाडौ सम्मको साइकल र्याली समेत आयोजना गरिएको थियो । उहाँले संसदमै भन्नू हुन्थ्यो ” म यो शरिरमा एकथोपा रगत रहुन्जेल सम्म राष्ट्र र जनता प्रति कुनै किसिमको धोका हुन दिन्न , देशभक्त कुनै पनी नेपालीले यो कुरा सहन सक्दैन ” । देश र जनताको पक्षमा आवाज उठाउदा उहाँ भन्नुहुन्थ्यो ” हामीले व्यक्तिगत हित र सम्पत्तिको लागि आन्दोलन गर्ने होइन, हामी त सम्पुर्ण नेपालीको सम्पत्तिको रक्षाका लागि लडदैछौ । यसो गर्नु गल्ती हो भने सही चिज के हो त ? धामीका यी आवाजहरू तत्कालीन समयमा संसदभित्र र संसद बाहिरका वजनदार बिचारहरू थिए
-बिकास निर्माणका सवालमा :

संसदमा मात्रै नभई आफ्नै पार्टी भित्र र सरकारमै हुँदा पनि देश र जनताको पक्षमा उहाँको अडान उस्तै हुन्थ्यो ।वि.स. २०५२/५३ सम्म पनि नेपाल भएरै दार्चुला जाने सडकमार्ग बनिसकेको थिएन । दार्चुलावासीले भारतीय बाटो भएर आफ्नो जिल्ला जानुपर्ने अवस्था थियो । भारतीय बाटोमा नेपालीले अनेकौं दुर्व्यवहार समेत सहनुपर्ने बाध्यात्मक परिस्थिति थियो ।जसबाट कुन देशभक्त र स्वाभिमानी नेपालीको मनमा चोट नपर्दो हो । उहाँ सांसद र मन्त्री भए पछि यो स्थिति को अन्त्य गर्न सरकारले प्रयाप्त बजेट बिनियोजन नगरेपछि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ” दार्चुलामा मोटर बाटोको लागि प्रयाप्त रकम अर्थ मन्त्रालय बाट नछुट्याइएको र आफ्नो निर्वाचन क्षेत्र जान भारत भएर जानुपर्दा आफ्नो पुर्ण परिचय साथ जान नसकिएको ,फलस्वरूप हीनताबोध अनुभव गर्नुपरेको, यस्तो स्थितिको अन्त गर्न प्रयाप्त बजेट छुट्ट्याउनु पर्ने माग गर्दा पनि दार्चुला लाई बेवास्ता गरिएको ले आफू मन्त्री पदमा बसेर काम गर्ने मनस्थितिमा नरहेको कुरा ” उल्लेख गरि पार्टी महासचिव लाई राजीनामा बुझाउनु भएको थियो ।
– सुशासन र इमानदारी को सवालमा :
अल्पमतको एमाले सरकार ढले पछी शेरबहादुर देउवा नेतृत्वमा काङ्ग्रेस ,राप्रपा र सदभावना पार्टीको संयुक्त सरकार बन्यो । जसलाई टिकाई राख्न सांसदहरू लाई मन्त्री र अन्य सेवा सुबिधा दिन सरकार बाध्य थियो । त्यस अन्तर्गत अनेकौं क्रियाकलाप भए ती मध्ये एक थियो ” सांसदहरूको पारिश्रमिक र सेवा सुबिधा सम्बन्धी विधेक ” जस अनुसार सांसदहरूको पारिश्रमिक बढाउने , अन्य सेवा सुबिधा सहित पजेरो सुबिधा दिलाउने,।”” त्यसमा सत्ता पक्ष र प्रतिपक्षका सबै सांसदहरू सहमत भए तर प्रेमसिंह धामी मात्रै यस्तो सांसद हुनुहुन्थ्यो जस्ले आफ्नो पार्टी नितिका बिपरित यसको कडा बिरोध गर्नु भयो । तत्कालीन समयमा उहाँले भन्नु हुन्थ्यो “हामीलाई जनताले जनताको सेवा सुबिधा बढाउन निर्वाचित गरेका हुन नकी आफ्नै सेवा सुबिधा वृद्धि गर्न ” उहाँको यस आवाजलाई कंचनपुरका तत्कालीन एमाले सांसद उर्वादत्त पन्तले समर्थन गर्नु भएको थियो ।
वि. स.२०५१ को मध्यावधि निर्वाचनमा दार्चुलामा तुलनात्मक बलियो मानिएका काङ्ग्रेस उम्मेदवार संग बिजय हासिल गर्न सक्ने योग्य उमेदवारको खोजीको सिलसिलामा पार्टी केन्द्र , सुदुर पश्चिम , पार्टी जिल्ला कमिटी , शुभचिन्तक सबै तिर बाट प्रेमसिंह धामीले मात्रै बिजय हासिल गर्ने आकलन गरि अनुरोध गरेपछि राष्ट्रियसभा सदस्यताबाट राजीनामा दिई उमेदवार बन्न राजी हुनु भयो । तर सोही क्षेत्रमा पार्टी बाट चुनाव लडन बिरबहादुर ठगुन्ना पनि इच्छुक भएपछि पार्टी जिल्ला कमिटीमा बिवाद भयो ।बिवाद साम्य गर्ने क्रममा पार्टी भित्र बीरबहादुर ठगुन्ना लाई राष्ट्रिय सभा सदस्य उमेदवार बनाउने र प्रेमसिंह धामी लाई प्रतिनिधि सभा सदस्य भन्ने सहमती भए पछि धामीले भन्नुभयो ” राष्ट्रिय सभा सदस्य उमेदवार बारे केन्द्रीय कमिटीले निर्णय गर्ने हुँदा हामीले कामरेड ठगुन्ना लाई उमेदवार बनाउने निर्णय गरि आश्वासन मात्रै दिई छलछाम गरे जस्तो हुन्छ यसो नगरौ” यसरी तत्काल आफुलाई फाइदा हुने भएपनि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नीति बिधि र ईमानको पक्षमा दृढ रहनु हुन्थ्यो ।
-साहित्य र संस्कृतिको क्षेत्रमा :
सुदुरपश्चिमको भाषा, संस्कृति र साहित्यको प्रचारप्रसार , संरक्षण र विकासको सवालमा पहिल्यै देखि संलग्न धामी राष्ट्रियसभा सदस्य भए पछि सुदुरपश्चिमको भाषा, साहित्य ,संस्कृति , गौँरा पर्व बारे संसद ,सरकार र राजधानीमा महत्वका साथ प्रचारप्रसार गर्नु भयो । साहित्यमा गहिरो रुचि भएका वहाँको लेखन क्षमता निकै अनुकरणीय थियो । वहाँले कथा , निबन्ध ,स्मरण , लोक कहावतमा आधारित कथा, एवं उक्ति हरुलाई नेपाली साहित्यको भण्डारमा र पत्रपत्रिकाको जगतमा स्थापित गराउने जस्ता महत्त्वपूर्ण योगदान गर्नुभयो ।” सुपको भाषाको पहिचान गराएको बारे आज भोलि धेरैका आ-आफ्नो दाबी छ्न । तर त्यतिबेला संसद र सरकारमा हुनेहरु र सरकारी एवं अन्य कामको सिलसिलामा काठमाडौमा बस्नेहरु , आफ्नो मातृभाषा बोल्न लजाउने ,बोलेमा नजान्ने भइने हो कि भन्ने हिनताबोध देखिन्थ्यो त्यसलाई चिर्दै धामी कै नेतृत्वमा वि.स. २०५१ को निर्वाचन पछि सुदुरपश्चिमका सांसदहरूले आफनो पहिचान उजागर गर्दै आफ्नो मातृभाषामा नै ( डोटेली र थारु) आपसमा कुरा गर्न थाले ।”
यसरी कला साहित्य , संस्कृति र राष्ट्रियताको क्षेत्रमा आवाज उठाउने क्रममै “काठमाडौ लाई कालापानी किन दुख्दैन ” शिर्षक को लेख ” सिक्किम भारतमा बिलय हुदा आन्दोलन गर्ने काठमाडौ ,भियतनाममा अमेरिकी सेना जादा आन्दोलन गर्ने काठमाडौ , क्यारेबियन देशहरूमा अमेरिकी सेना बस्दा बिरोध गर्ने काठमाडौ ,कालापानीमा भारतीय सेनाको उपस्थितिमा किन मौन छ ? खै असन र ईन्द्र चोक , लगनखेल र जावलाखेल तातेको ? के कालापानीको घाउले दार्चुलालाई मात्र पोल्नु पर्छ ? कालापानी काठमाडौ लाई दुख्दैन ? नै वहाँको अन्तिम लेख बन्न पुग्यो । जुन नेपाली हाम्रो राष्ट्रिययताका सवालमा सरकार, नागरिक समाज र सत्ता माथी गरिएका अमर मात्र नभई निर्मम प्रश्नहरू समेत थिए ।
सरल स्वाभाव देशभक्ति पुर्ण गर्जन :
ग्रामीण सरल र सादा जीवनशैली रुचाउने प्रेमसिंह धामीको व्यवहार अत्यन्त मिलनसार बालबालिका किसोर किशोरी , युवा युवती र पाका सबै मा सम्मान गर्ने थियो पहाड बाट तराई बसाइँसराइ गरेको लामो समय भई ,उच्च पद प्राप्त गरेता पनी उहाँ पहाडका आफुले चिनेका व्यक्तिका परिवारका आफुले नचिनेका सदस्य भेटदा पनि सबैको हालखवर र सन्चो बिसन्चो सोध्नु हुन्थ्यो । एकपटक सम्पर्कमा आएको व्यक्ति लाई कहिल्यै बिर्सनु हुन्नथ्यो ।
वहाँ जनतालाई सरलभाषामा स्थानीय उदाहरण सहित प्रस्ट कुरा बुझाउन सक्नु हुन्थ्यो । ” सामान्य व्यवहारमा सरल वहाँ राष्ट्रियता र जनजिबिका को सवालमा बाघझै गर्जेर बिरोधी का मुटु हल्लाउन सक्ने तागत राख्नु हुन्थ्यो ।
“राजनीति लाइ व्यापार बनाउने भन्दा माथि उठेर मेची र काली लाई शब्दमा होइन साँच्चै भावना र समृद्धिमा मिलाउने अठोट बोकेका प्रेमसिंह धामी नेपालीका लागि एउटा कहिल्यै नबिर्सने नाम हो। नालापानीको युद्धमा बलभद्रको गाथा जस्तै कालापानीको युद्धमा प्रेमसिंह धामीको गाथा सदा- सदा अमर रहनेछ ।
देहावसान :-
वि.स.२०५४ साल भाद्र २७ गते बिहान करिब १० बजे तिर नुवाकोट बाट काठमाडौको लागि प्रस्थान भएको बा.अ.झ ४२७५ नम्बर को जीप नुवाकोटको मदानपुर गाबिस केउरेनी गुरुङ्भिर नजिक सडक बाट २४३ फिट तल खसेर विभत्स दुर्घटना घट्न पुग्यो । नेपाल र नेपालीले एउटा सच्चा देशभक्त राजनेता सदाका लागि गुमाउन पुगे ।
उहाँको देहान्तले दार्चुलेली जनताले मात्रै नभई समग्र नेपाली राजनीतिले एउटा सादगी राष्ट्रवादी सपुत गुमाउनुपर्यो । उहाँले उठान गरेको कालापानी सहितको भुगोलको मुद्दा देशको साझा मुद्दा मात्रै नभई आज नेपालको राज्यको नक्सामा उक्त भुगोल समेटिएको छ ।
राजनीतिलाई जनताको सेवामा समर्पित गर्दै राष्ट्र र राष्ट्रियताका सवालमा कुनै सौदावाजी चल्दैन भन्ने स्वाभावका धामीको निधनले दार्चुलाले मात्र नभई समग्र देशले नेपाली राजनीतिको मुर्धन्य पात्र गुमाउँदै अपूरणीय क्षती व्यहोर्नुपर्यो ।
स्व.प्रेम सिंह धामी प्रति हार्दिक श्रद्धासुमन छ ।
सन्दर्भ सामग्री / श्रोत
* कालापानी आवाज एमाले दार्चुला काठमाडौ सम्पर्क मंच २०६४
* रेडियो छाप सलाइ – डियर कल्याण ,
* धर्मराज पाठक , उर्वादत्त पन्त , दयाकृष्ण पन्त , स्व. रबिन्द्र अधिकारी , रामकुमार ज्ञवाली , शेरसिंह धामी , रैभान महरा महेशसिंह धामी का प्रकाशित लेख हरु
* नेपालका आम निर्वाचनहरु ।
लेखक:
रमेश सिंह धामी (बिक्रान्त )






























