
नेपाली कांग्रेसको इतिहासमा बीपी कोइराला केवल एउटा नाम होइन, एउटा राजनीतिक चेतना, लोकतान्त्रिक संस्कार र विचारको प्रतीक हुनुहुन्छ। त्यसैले आज जब कोही नेता वा कार्यकर्ता आफूलाई बीपीको अनुयायी, बीपीको विचारको वाहक र बीपीको राजनीतिक संस्कारको उत्तराधिकारी भनेर प्रस्तुत गर्छ, स्वाभाविक रूपमा एउटा प्रश्न उठ्छ—हामीले बीपीबाट वास्तवमै के सिक्यौँ?

आजको नेपाली कांग्रेसको राजनीतिक व्यवहार हेर्दा यो प्रश्न झन् गम्भीर बनेको छ। भाषणमा बीपी, व्यवहारमा गालीगलौज; अभिव्यक्तिमा लोकतन्त्र, आचरणमा आरोप–प्रत्यारोप; सार्वजनिक कार्यक्रममा बीपीको सिद्धान्तको चर्चा, तर व्यवहारमा आफ्नै सहकर्मी र कार्यकर्तामाथि अविश्वास—यस्तो विरोधाभासले बीपीको विरासतलाई बलियो बनाउँदैन, कमजोर बनाउँछ।
बीपी कोइरालाको नाम लिएर राजनीति गर्न सजिलो छ। बीपीका तस्वीर राख्न सजिलो छ। बीपीका भाषणका केही अंश उद्धृत गर्न पनि सजिलो छ। तर बीपीको राजनीतिक संस्कार, लोकतान्त्रिक मूल्य, वैचारिक साहस, संगठनप्रतिको जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्न कठिन छ। वास्तविक परीक्षा त्यहीँ हुन्छ।

आज नेपाली कांग्रेसभित्र एकअर्कालाई गाली गर्ने, आरोप लगाउने, चरित्रमाथि प्रश्न उठाउने र सामाजिक तथा सार्वजनिक मञ्चबाट प्रमाणबिनाका कुरा गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यदि कसैमाथि कुनै गम्भीर आरोप छ भने त्यसको उचित बाटो कानुनी प्रक्रिया हो। तथ्य छ भने अनुसन्धान हुनुपर्छ, प्रमाण छ भने सम्बन्धित निकायमा मुद्दा जानुपर्छ र दोष प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ।
लोकतन्त्रमा आरोप लगाउनु ठूलो कुरा होइन; आरोपलाई तथ्य र प्रमाणले पुष्टि गर्नु ठूलो कुरा हो। हावाको भरमा, राजनीतिक स्वार्थका आधारमा वा भीडको तालीका लागि कसैको प्रतिष्ठामाथि प्रश्न उठाउनु लोकतान्त्रिक संस्कार होइन। अझ आफूलाई बीपीको अनुयायी भन्ने व्यक्तिले यस्तो व्यवहार गर्दा प्रश्न झन् गम्भीर हुन्छ।
बीपीको नामलाई राजनीतिक हतियार बनाउनु हुँदैन। बीपीको सिद्धान्तलाई आफ्नो गुटको पक्षमा प्रयोग गर्ने र विरोधीलाई कमजोर बनाउन बीपीकै नाम बेच्ने प्रवृत्तिले बीपीको सम्मान गर्दैन। बीपीलाई साँचो रूपमा सम्झने हो भने उहाँको विचारलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ।
पहिलेको कांग्रेस र आजको कांग्रेस
आजको नेपाली कांग्रेस पहिलेको नेपाली कांग्रेसजस्तो छैन। समय बदलिएको छ, समाज बदलिएको छ, राजनीतिक चेतना बदलिएको छ र कांग्रेसका कार्यकर्ता पनि बदलिएका छन्।
पहिले नेतृत्वको वरिपरि सीमित पहुँच र व्यक्तिगत सम्बन्धले राजनीतिक अवसर निर्धारण गर्ने अवस्था थियो होला। तर आजको कांग्रेसमा कार्यकर्ता प्रश्न गर्छन्, जनता मूल्यांकन गर्छन् र निर्वाचनले नेतृत्वको क्षमता परीक्षण गर्छ।
अब केवल कसैको आडमा, कसैको नाममा वा कुनै पूर्व सभापति तथा पूर्व प्रधानमन्त्रीसँगको निकटताको आधारमा लामो समयसम्म राजनीति चलाउने अवस्था रहँदैन। आजको कार्यकर्ताले प्रश्न गर्छ—तपाईंले संगठनका लागि के गर्नुभयो? तपाईंले कति कार्यकर्ता निर्माण गर्नुभयो? तपाईंको नेतृत्वमा कति मानिस विश्वासका साथ अघि बढेका छन्? तपाईंले पार्टीलाई कति बलियो बनाउनुभयो? यदि आफूलाई ठूलो नेता भन्ने हो भने आफ्नै राजनीतिक क्षमता देखाउनुपर्छ। यदि आफूलाई जनताको नेता भन्ने हो भने जनताबीच आफ्नो स्वीकार्यता प्रमाणित गर्नुपर्छ। यदि आफूलाई संगठनको नेता भन्ने हो भने आफूले निर्माण गरेका कार्यकर्ताको संख्या होइन, उनीहरूको विश्वास र राजनीतिक क्षमता देखाउन सक्नुपर्छ। अब महाधिवेशनमा कुरा गरौँ
राजनीतिक नेतृत्वको वास्तविक परीक्षण भाषणमा होइन, निर्वाचनमा हुन्छ। त्यसैले आगामी पन्ध्रौँ महाधिवेशनलाई गालीगलौजको होइन, राजनीतिक प्रतिस्पर्धाको मञ्च बनाऔँ।
आफूसँग विचार छ भने विचार लिएर आउनुहोस्। संगठन निर्माण गर्ने क्षमता छ भने कार्यकर्तासँग आउनुहोस्। जनताको विश्वास छ भने जनताको मत लिएर आउनुहोस्। नेतृत्व गर्ने क्षमता छ भने महाधिवेशनमा प्रतिस्पर्धा गर्नुहोस्।
आफ्नो पक्षधरता निर्माण गर्नुहोस्, आफ्ना समर्थकलाई संगठित गर्नुहोस् र लोकतान्त्रिक विधिबाट प्रतिस्पर्धा गर्नुहोस्। त्यसपछि महाधिवेशनले जे निर्णय गर्छ, त्यसलाई सबैले स्वीकार गर्ने संस्कार निर्माण गरौँ।
लोकतन्त्रको सुन्दरता यही हो—सबैलाई आफ्नो विचार राख्ने अधिकार हुन्छ, तर अन्तिम निर्णय विधि र प्रक्रियाबाट हुन्छ। कसैको मुख हेरेर राजनीति गर्ने होइन। कसैको नाम बेचेर राजनीति गर्ने होइन। कुनै पूर्व पदाधिकारीको छायामा बसेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने होइन। आफ्नै क्षमता, आफ्नै विचार, आफ्नै संगठन र आफ्नै कार्यकर्ताको विश्वासका आधारमा राजनीति गर्ने समय आएको छ।

प्रदेशका नेतृत्वलाई एउटा प्रश्न
सुदुरपश्चिम प्रदेश होश
बागमती प्रदेश होस्, गण्डकी प्रदेश होस्, मधेस प्रदेश होस् वा देशका अन्य कुनै प्रदेश—आफूलाई नेतृत्वको दाबेदार ठान्ने सबैसँग एउटै प्रश्न गर्नुपर्छ।
तपाईंले आजसम्म कति सक्षम कार्यकर्ता निर्माण गर्नुभयो?
तपाईंको नेतृत्वमा कति मानिसले स्वतन्त्र रूपमा राजनीति गर्न सिके?
तपाईंको विचारमा विश्वास गरेर कति युवाहरू अघि बढेका छन्?
तपाईंले पार्टीलाई बलियो बनाउन कति योगदान गर्नुभयो?
नेता हुनु भनेको केवल पदमा पुग्नु होइन। नेता हुनु भनेको आफूभन्दा पछाडि आउने पुस्ता निर्माण गर्नु हो। आफूलाई पछ्याउने भीड जम्मा गर्नु र सक्षम नेतृत्व तयार गर्नु एउटै कुरा होइन।
यदि तपाईंले साँच्चिकै राजनीति गर्नुभएको छ भने तपाईंको राजनीतिक यात्राबाट तयार भएका कम्तीमा दुई जना सक्षम, इमानदार र स्वतन्त्र रूपमा उभिन सक्ने कार्यकर्ता देखाउन सक्नुपर्छ। जसले तपाईंलाई केवल पदका कारण होइन, विचार र विश्वासका कारण पछ्याएका हुन्।
त्यो नै नेतृत्वको वास्तविक परीक्षा हो।
बीपीको कानून र लोकतान्त्रिक संस्कार
बीपीको नाम लिने हो भने कानूनको सम्मान गर्न सिक्नुपर्छ। लोकतन्त्रको कुरा गर्ने हो भने असहमतिलाई स्वीकार गर्न सिक्नुपर्छ। संगठनको कुरा गर्ने हो भने आफ्नै सहकर्मीलाई सम्मान गर्न सिक्नुपर्छ।
कसैले गल्ती गरेको छ भने कानुनी र संस्थागत बाटो रोजौँ। कसैमाथि आरोप छ भने अनुसन्धान होस्। दोष प्रमाणित भए कानुनअनुसार कारबाही होस्। तर प्रमाणबिनाको आरोप, व्यक्तिगत गाली र राजनीतिक प्रतिशोधलाई लोकतन्त्रको नाम दिनु हुँदैन।
हामीले एउटा कुरा स्पष्ट बुझ्नुपर्छ—बीपीको विरासत उहाँको नाम उच्चारण गरेर होइन, उहाँले विश्वास गरेको लोकतान्त्रिक मूल्यको रक्षा गरेर जोगिन्छ।
अब निर्णय कार्यकर्ताको हो
नेताहरूले आफ्नो दाबी गरिरहून्। भाषण गरिरहून्। आफूलाई बीपीको सच्चा अनुयायी भनिरहून्। तर अन्तिम निर्णय कार्यकर्ता र जनताले गर्नेछन्।
नेतृत्व कसैको वंश, पहुँच, पुरानो सम्बन्ध वा शक्तिशाली व्यक्तिको आडमा स्थायी हुँदैन। नेतृत्व जनताको विश्वास, कार्यकर्ताको समर्थन, राजनीतिक क्षमता र कामको परिणामबाट स्थापित हुन्छ।
त्यसैले अब बीपीको नाम बेचेर राजनीति गर्ने समय होइन। बीपीको विचार बुझेर राजनीति गर्ने समय हो।
अब गाली होइन, विचार चाहिन्छ। अब आरोप होइन, प्रमाण चाहिन्छ।
अब गुटको अहंकार होइन, संगठन चाहिन्छ।
अब पुरानो सम्बन्धको आड होइन, आफ्नै राजनीतिक क्षमता चाहिन्छ।
अब भाषणमा बीपी होइन, व्यवहारमा बीपी चाहिन्छ।
आउनुहोस्, पन्ध्रौँ महाधिवेशनमा भेटौँ। जसलाई आफूमा विश्वास छ, आफ्नो विचारमा विश्वास छ, आफ्नो संगठनमा विश्वास छ र कार्यकर्ताको विवेकमा विश्वास छ—ऊ मैदानमा आओस्। आफ्ना विचार राखोस्, आफ्ना साथी र समर्थक लिएर प्रतिस्पर्धा गरोस् र लोकतान्त्रिक निर्णय स्वीकार गरोस्।
त्यही नै बीपीप्रतिको वास्तविक सम्मान हुनेछ।
बीपीको नामलाई आफ्नो राजनीतिक स्वार्थको ढाल नबनाऔँ। बीपीको विचारलाई आफ्नो राजनीतिक आचरणको ऐना बनाऔँ।
किनकि बीपीको सच्चा उत्तराधिकारी त्यो होइन, जसले सबैभन्दा धेरै पटक बीपीको नाम लिन्छ; सच्चा उत्तराधिकारी त्यो हो, जसले लोकतन्त्र, विधि, विचार र जनताको विवेकमाथि विश्वास गर्छ। अब नेपाली कांग्रेसलाई नामले होइन, कामले चिनाउने समय आएको छ।
भिम बहादुर खड्का
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस विद्यार्थी































