
शिक्षा, चेतना र सामाजिक विकासका क्षेत्रमा हामीले धेरै प्रगति गरेका छौँ। तर दुःखको कुरा, शिक्षाको विस्तारसँगै हाम्रो सामाजिक मानसिकतामा अपेक्षित परिवर्तन आउन सकेको देखिँदैन। अझै पनि कतिपय मानिसमा जातीय विभेद र छुवाछूतसम्बन्धी पुरानो सोच कायमै रहेको पाइन्छ। यसको प्रत्यक्ष असर विशेषगरी अध्ययनका लागि महेन्द्रनगर आउने दलित विद्यार्थीहरूले भोग्नुपरेको भाडाकोठाको समस्यामा देखिन्छ।


पहिले घरमा भाडाका लागि कोठा खाली छ कि भनेर सोध्दा सहजै “खाली छ” भन्ने गरिन्छ । तर आफ्नो जात वा थर बताएपछि, अथवा नाम हेरेर दलित भएको थाहा पाएपछि “कोठा दिन सकिँदैन” भन्ने अवस्था अझै पनि कतिपय ठाउँमा रहेको सुनिन्छ। यस्तो क्रूर र अमानवीय मानसिकताले एउटा विद्यार्थीको आत्मसम्मान र मानसिकतामा कस्तो असर पर्ला? यसबारे घरधनीहरूले गम्भीर भएर सोच्नुपर्ने होइन र?
केही दिनअघि एक जना भाइ निकै दुःखी र परेशान भएर मेरो घरमा आए। उनले आफ्नो समस्या सुनाउँदै भने, “अङ्कल, खोलापारिको एउटा घरमा कोठा खाली छ भनेर सोध्न गएको थिएँ। कोठा खाली रहेछ। घरधनीले मेरो नाम सोधे। मैले आफ्नो नाम बताएपछि ‘हामी दलितलाई कोठा दिँदैनौँ’ भन्नुभयो।”
उनले त्यसपछि मलाई सोधे, “हजुरको घरमा कोठा पाइएला कि?”
मैले तत्कालै भनेँ, “हुन्छ बाबु, यहीँ बस।”
आज ती भाइ मेरो घरमा बसेर आफ्नो अध्ययन गरिरहेका छन्। एउटा विद्यार्थीलाई केवल उसको जातका कारण कोठा नदिँदा उसको मनमा कस्तो पीडा र हीनताको भावना उत्पन्न होला भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। विद्यार्थीको परिचय उसको जात होइन, उसको क्षमता, मेहनत, चरित्र र भविष्यप्रतिको उसको सपना हो।
यस्तै अर्को अनुभव करिब दस वर्षअघिको हो। दोधाराबाट आएका केही विद्यार्थीहरू भाडाकोठा नपाएर निकै दुःखी भएका थिए। दलित भएको कारण कतिपय घरधनीहरूले उनीहरूलाई कोठा दिन अस्वीकार गरेका रहेछन्। उनीहरू मेरो सम्पर्कमा आएपछि मैले “हुन्छ बाबुहरू, आउनुहोस्” भनेर आफ्नो घरमा बस्ने व्यवस्था मिलाएँ। उनीहरू करिब पाँच वर्षसम्म मेरो घरमा बसे।
तीमध्ये अजय सुनार अहिले नेपाल प्रहरीमा इन्स्पेक्टर पदमा कार्यरत छन्। उनका आमाबुबा तथा परिवारका सदस्यहरू अझै पनि मसँग आत्मीय सम्पर्कमा हुनुहुन्छ। उहाँहरूसँगको सम्बन्ध केवल घरभाडामा बस्ने र घरधनीको सम्बन्धमा सीमित रहेन; त्यो माया, प्रेम, सद्भाव र आत्मीयतामा परिणत भयो।
केही दिनअघि अजयको विवाह सम्पन्न भयो। विवाहको निमन्त्रणा पनि प्राप्त भएको थियो। कार्यक्रममा सहभागी हुने मेरो हार्दिक इच्छा थियो। तर मेरी आमाको हालै देहावसान भएकाले म उक्त वैवाहिक कार्यक्रममा सहभागी हुन सकिनँ। यद्यपि, अजय र उनको परिवारप्रतिको मेरो शुभेच्छा र आत्मीयता सदैव कायम रहनेछ।
दलित विद्यार्थी र समुदायले भोगिरहेका यस्ता समस्या मलाई नजिकबाट थाहा छन्। त्यसैले आफ्नो तर्फबाट सम्भव भएसम्म सहयोग गर्ने प्रयास गर्दै आएको छु। मेरो विचारमा समाज परिवर्तन केवल कानुन बनाएर मात्र सम्भव हुँदैन; त्यसका लागि मानिसको सोच र व्यवहारमा परिवर्तन आउन आवश्यक हुन्छ।
आज हामी शिक्षा, प्रविधि र विकासमा धेरै अगाडि बढेका छौँ। तर यदि एउटा विद्यार्थीले आफ्नो जातका कारण मात्र भाडाकोठा पाउन सक्दैन भने हाम्रो शिक्षित समाजमाथि नै प्रश्न उठ्छ। घरधनीले कोठा दिँदा विद्यार्थीको जात होइन, उसको आचरण, अनुशासन र जिम्मेवारी हेर्नुपर्छ।
हामीले नयाँ पुस्तालाई समानता, मानवता र सद्भावको संस्कार दिनुपर्छ। जातका आधारमा कोही ठूलो वा सानो हुँदैन। प्रत्येक विद्यार्थीलाई सम्मानपूर्वक बाँच्ने, पढ्ने र आफ्नो भविष्य निर्माण गर्ने समान अधिकार छ। हाम्रो समाजको वास्तविक उन्नति त्यतिबेला मात्र हुनेछ, जब शिक्षासँगै हाम्रो सोच र व्यवहार पनि परिवर्तन हुनेछ।
त्यसैले महेन्द्रनगरलगायत सम्पूर्ण समाजका घरधनी तथा नागरिकहरूलाई मेरो विनम्र आग्रह छ—कोठा भाडामा दिँदा जात होइन, मानिस हेर्नुहोस्; थर होइन, चरित्र हेर्नुहोस्; विभेद होइन, मानवता रोज्नुहोस्। एउटा सानो सद्भावले कुनै विद्यार्थीको जीवनको दिशा नै परिवर्तन गर्न सक्छ।
✍️ प्रा. डा. मुकुन्द कलौनी































