
कैलाली: मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो ।

तटबन्ध कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इञ्जिनियर श्रीप्रसाद शाहका अनुसार ती दुवै नदीमा १२ चरणमा निर्माणाधीन १२ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको हो । निर्माण कम्पनीले ती दुवै नदीमा फरकफरक चरणमा तटबन्ध निर्माण गरिरहेकोमा सबै चरणको काम सकिन लागेको उनले जानकारी दिए ।इञ्जिनियर शाहले ठेकेदार कम्पनीसँग गत आर्थिक वर्षभित्रै तटबन्धको काम सम्पन्न गर्नेगरी सम्झौता भएको तर वर्षा समयका कारण केही ढिलाइ भएको बताए । तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा सात सय मिटर, सोही नदीको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–९ मा एक हजार तीन सय ५० मिटर, मोहना नदीमा पिआरटिडब्लु–१२ ‘बी’ प्याकेजअन्तर्गत तथा कञ्चनपुरको जोरायल टोलतर्फ पाँच सय २० मिटर तटबन्ध निर्माण सम्पन्न भएको छ ।

धनगढी–१३ स्थित श्रीलङ्कामा चार सय ३० मिटर, कृष्णपुर नगरपालिका–१, मोहना नदीमा छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माण सम्पन्न भएको शाहले जानकारी दिए । गोदावरी नगरपालिकाको अर्जुन टोलमा खुटिया नदीमा एक हजार छ सय मिटर, वडा नं ७ मा तीन सय मिटर र गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण सकिन लागेको कार्यालय प्रमुखसमेत रहेका सिनियर डिभिजनल इञ्जिनियर शाहले बताए । उनले गोदावरी नगरपालिकाको धनचौरीमा एक हजार मिटर र धनगढी–१५ तरबरियामा चार सय मिटर तटबन्ध निर्माण केही दिनमा सम्पन्न हुने जानकारी दिए ।































