
अत्तरिया : मोटरसाइकलमा माछा ओसारपसार गर्न दिन कैलालीका माछा व्यवसायीले माग गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा ज्ञापनपत्र बुझाँउदै उनीहरूले मोटरसाइकल तथा साइकलमा माछा ओसारपसार गर्न दिन माग गरेका हुन् ।

माछा व्यवसायी निर्प कुँवरले मोटरसाइकलमा एउटा टोकरी बाँधेर माछा ढँुवानी गर्दा ट्राफिकले जरिवाना काटेर हैरान बनाउने गरेको बताए । माछा बेचेर दिनभरी कमाई हुने सानो रकम पनि ट्राफिकको जरिवानामा जाने उनको गुनासो छ ।
दिनभरी माछा बेचेर आम्दानी भएको रकम पनि जरिवानामा जाँदा परिवार पाल्न समेत गाह्रो भएको अर्का माछा व्यवसायी कृष्ण गिरीले बताए । माछा व्यसायी संघ कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले माछा व्यवसायीको दिनभरिको मिहिनेत जरिवानामै जाने गरेकोले यस्तो नगरिदिन ट्राफिक प्रहरीलाई अनुरोध गरे ।




ट्राफिकले लिने गरेको जरिवानाका कारण व्यवसाय नै धरापमा पर्ने उनको भनाइ छ । ‘दुर्घटना नै निम्तिने गरी हामीहरु ल्याउँदैनौ, उनले भने एक क्रेटमा १५÷२० किलो जति हुन्क्छ । मोटरसाइकलमा यसरी बोक्न पाइदैन भनेर उहाँहरुले जरिवाना काट्नु हुन्छ’ उनले भने । ‘पत्र बुझ्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरजबहादुर खड्काले कार्यालय प्रमुख समक्ष समस्या राख्ने बताए ।
गैरकानुनी रुपमा सामान बोक्दा दुर्घटना भएको खण्डमा ट्राफिकमाथि पनि प्रश्न उठ्ने हुँदा कानुनीरुपमा मोटरसाइकलमा वा दुई पाङ्ग्रे सवारीमा यसरी क्रेट बाँध्न नमिल्ने तर, व्यवहारीकता हेर्न ट्राफिकलाई अनुरोध गरिने बताए ।


































