
‘रन फर वेस्ट कलेक्सन’ प्रतियोगितामा एसपिए कलेजका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र द्वितीय स्थान हासिल गरेका छन्। प्रथम स्थान हासिल गर्ने एसपिए कलेजका समूहले ३६.९ किलोग्राम फोहर संकलन गरे भने द्वितीय स्थान प्राप्त गर्ने समूहले १७.९३ किलोग्राम फोहर जम्मा गरेको थियो।

तृतीय स्थान चैतन्य पाठशालाका विद्यार्थी समूहले १५.६७ किलोग्राम फोहर संकलन गरेर प्राप्त गरे। चौथो र पाँचौँ स्थान क्रमशः ऐश्वर्य विद्या निकेतन र अलाइन्स विद्यालयका समूहले हासिल गरे।
कार्यक्रम ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान अन्तर्गत सरसफाइलाई प्रोत्साहन गर्न आयोजित भएको विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले जानकारी दिए। उनले सबैले हातेमालो गर्दै सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।


प्रतियोगितामा सहभागी समूहलाई विद्यालयमा आयोजित विशेष कार्यक्रमका बिच पुरस्कृत गरिएको थियो। विजेता समूहलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार प्रदान गरिएको सामाजिक क्लबका अध्यक्ष अनिल अवस्थीले जानकारी दिए।
यो प्रतियोगिताले स्थानीय विद्यालयहरूबिच सरसफाइको महत्वबारे जनचेतना फैलाउनुका साथै विद्यार्थीहरूलाई फोहर व्यवस्थापनमा सक्रिय बनाएको आयोजकले विश्वास लिएका छन्।
धनगढीको कैलाली मोडेल माध्यमिक विद्यालयको सामाजिक क्लबद्वारा आयोजित प्रतियोगितामा धनगढीका १० विद्यालयका ४२ समूह सहभागी थिए।






























