
अत्तरिया : धनगढीमा पुस ९ गते सुरु भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सकिएको छ । १४ बर्षपछि धनगढीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा सम्पन्न समापन समारोहका प्रमसख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा थिए ।

विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै औपचारिक रुपमा समापन गरिएको हो । प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवाले धनगढीमा गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताए । पूर्वमन्त्री समेत रहेका देउवाले महोत्सवले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन महत्वपूर्ण टेउवा पुराउने बताएका हुन । उनले शैक्षिक महोत्सवले शिक्षा क्षेत्रलाई सुचनामैत्री र समय सुहाउँदो बनाउनका लागि कोसेढुंगा साविक भएको बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि नयाँ व्यवस्था आवश्यक रहेको दावी गरे । उनले कैलाली क्षेत्र नम्बर ५ को विकासका लागि आफु सधैं लागिरहेको र यसक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने : पुर्वमन्त्री देउवा

विभिन्न विद्यालय स्तरीय प्रतियोगिता आयोजना, दुई लाख बढी पुरस्कार वितरण
एक लाख बढी दर्शक द्वारा अवलोकन

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्बन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेका थिए । महोत्सवलाई एक लाख बढी दर्शकले अवलोकन गरेका छन् ।
महोत्सव अविध भरमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना गरिएका छन् । चार वटा प्रतियोगिताका गरी विभिन्न सात वटा विधाहरुमा विद्यालय स्तरीय प्रतियोगिताहरु आयोजना गरिएका हुन् । त्यसमा झण्डै दुई लाख बीस हजार नगद पुरस्कार वितरण गरिएको छ । प्रत्येक विधामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद दश हजार र तेस्रो हुनेलाई नगद पाच हजार सहित सम्मान गरिएको छ । विद्यालय स्तरीय नृत्य प्रतियोगितामा थ्रीस्टार बोर्डिङ स्कुल पहिलो भएको छ । बात्सल्य विद्या निकेतन दोस्रो हुँदा ग्ली एकेडेमी तेस्रो भएको छ ।
चित्रकला प्रतियोगिता आधारभुत तह तर्फ शैलेश्वरी बोर्डिङ स्कुलकी भावना चन्द प्रथम भईन् । हिमाल एकेडेमीका निरज ठकुल्ला द्धितीय हुँदा डिस्कभरी बोर्डिङ स्कुलकी आयुषा खड्का तृतीय भईन् । चित्रकला प्रतियोगिता माध्यमिक तह तर्फ एक्सीस विद्याश्रमकी निधि पाण्डेय पहिलो भईन् । थ्रीस्टार बोर्डिङ स्कुलकी रेखा ओझा दोस्रो र डिस्कभरी बोर्डिङ स्कुलका निरज सिंह जागरी तेस्रो भए ।
वक्तृत्वकला प्रतियोगिता आधारभुत तह तर्फ ऐश्वर्य विद्या निकेतनकी साक्षी भट्ट पहिलो भईन् । राईजिङ स्टार बोर्डिङ स्कुलकी तृप्ती सिंह दोस्रो र ग्यालेक्सी सेकेन्डरी स्कुलका वैभव बिष्ट तेस्रो भए । वक्तृत्वकला प्रतियोगिता माध्यमिक तह तर्फफारवेष्ट बोर्डिङ स्कुलका प्रज्वल भट्ट प्रथम भए । वात्यल्य विद्या निकेतनकी सान्त्वना पोखरेल दोस्रो हुँदा कुमुदिनी आदर्श विद्या निकेतनका नरेन्द्र आचार्य तेस्रो भए । कविता प्रतियोगिता आधारभुत तह तर्फ माईलस्टोन बोर्डिङ स्कुलका शिशिर ओझा प्रथम भए । ग्ली एकेडेमीकी आयुषा कटुवाल दोस्रो हुँदा मालाखेती भिजन स्कुलकी दिक्षा जोशी तेस्रो भईन् । कविता प्रतियोगिता माध्यमिक तह तर्फ एरिष्टो बोर्डिङ स्कुलका गौरव उपाध्याय प्रथम भए भने एक्सिस विद्याश्रमका करन सिंह धामी दोस्रो भए । एयाईन्स ईन्टरनेशनल स्कुलका दिनेश फराडा र चैतन्य पाठशालाकी जेनी चौधरी संयुक्त रुपमा तेस्रो भईन् । सात वटा विधाहरुमा विजयी प्रथम भएकाहरुलाई नगद १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद सहित सम्मान गरिएको छ ।
महोत्सव अवधिभर दैनिक रुपमा शैक्षिक वहस आयोजना गरिएको थियो । शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु आयोजना गरिएका छन् । विभिन्न विषयवस्तुहरुसँग रहेर सहजकर्ता टेकराज अवस्थी र दिर्घराज उपाध्यायले सहजकर्ताको रुपमा बहस कार्यक्रम सञ्चालन गरेका छन् ।






























