
अत्तरिया: कैलालीमा जारी शीतलहर र त्यसले जनजीवनमा पारेको प्रभावलाई कम गर्न विभिन्न सरोकारवालाबीच छलफल भएको छ। जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको बैठकमा विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरूले शीतलहर न्यूनीकरणका लागि गर्नुपर्ने कामबारे जानकारी दिएका छन्।

बैठकमा, विपद् व्यवस्थापनमा स्थानीय समुदायमा केन्द्रित योजनाहरू लागू गर्नुपर्नेमा जोड दिइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले शीतलहरजस्ता प्राकृतिक विपद् न्यूनीकरणमा सबै संस्थाहरूको समन्वय र एकीकृत प्रयास आवश्यक रहेको बताए। उनले प्रशासनसँग समन्वय गरेर काम गर्न सुझाव दिए।
शीतलहरबाट प्रभावित क्षेत्र
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा दोश्रो दिनसम्म बाक्लो हुस्सु र चिसोले जनजीवन प्रभावित भएको छ। घाम नलाग्दा चिसो झन् बढेको र दैनिक मजदूरी गर्ने, विद्यार्थी र वृद्धवृद्धाहरू विशेष प्रभावित भएका छन्। स्थानीय प्रशासनले न्यानो कपडा लगाउन, अनावश्यक घरबाहिर ननिस्कन र सचेत रहन अपिल गरेको छ।


सरकारी र गैरसरकारी संस्थाहरूले प्रभावित समुदायलाई न्यानो कपडा वितरण, तातो खाजाको व्यवस्था र अस्थायी तापक्रम केन्द्रहरू सञ्चालन गर्ने घोषणा गरेका छन्। मिडियाले पनि सन्देशमुलक सामग्री उत्पादन गरेर नागरिकलाई सचेत पार्न काम गरिरहेको छ।
शीतलहर र हुस्सुले यातायात, कृषि र व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ। किसानहरूले चिसोले बालीमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् भने, हुस्सुका कारण सवारीसाधन चलाउन कठिनाइ भएको र यात्रुहरूलाई गन्तव्यमा पुग्न ढिलाइ भएको छ।
बैठकबाट निकालेका निष्कर्षहरूलाई व्यवहारमा उतारेर चिसोबाट प्रभावित समुदायलाई राहत दिन सकिने अपेक्षा गरिएको छ।































