
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा संघीय सरकारबाट पठाइने सचिवहरूको स्थानान्तरण तथा नियुक्तिमा देखिएको समस्यालाई समाधान गर्दै प्रदेशकै ११औं तहका कर्मचारीलाई सचिव बनाउने व्यवस्था गर्ने बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमितिले आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश निजामती सेवा ऐन र नियमावली पारित भइसकेको जानकारी दिँदै थारू र राना थारू समुदायका समस्याहरू सम्बोधन गर्न ऐन संशोधनका लागि छलफल अघि बढाइएको बताए।

शाहले मन्त्री परिषदले चाँडै ओएनएमका लागि समिति गठन गर्ने र स्थानीय सरकार सञ्चालन ऐन माघ १५ भित्र तयार पारिने उल्लेख गरे। कार्यक्रममा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिं विष्टले ऐन निर्माणमा नौ जिल्लाका कर्मचारीहरूको सुझाव समेटिएको र स्थानीय तह सञ्चालनका लागि पालिका प्रमुखहरूसँग छलफल जारी रहेको जानकारी दिए।

सम्मान कार्यक्रममा मुख्यमन्त्री शाहसहित प्रदेशका प्रमुख व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरियो।































