
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रम गोदावरी सभा हलमा सम्पन्न भएको छ। कार्यक्रममा फोहोर व्यवस्थापनसँगै प्लास्टिक नियन्त्रणका लागि विधान संशोधन गर्ने निर्णय गरिएको छ। आगामी दिनमा प्लास्टिकजन्य पदार्थमा कडाइ गर्न तथा वडा समिति गठन गर्ने योजना पनि तय गरिएको छ।



उपमेयर शारदा देवी रोकायाको संयोजनमा आयोजित कार्यक्रममा पालिकाका सबै वडा अध्यक्षहरू, स्थानीय टोल सुधार समिति पदाधिकारी, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षा अधिकारी, पत्रकार लगायतको उपस्थिति थियो। कार्यक्रममा अत्तरिया बजारलगायत क्षेत्रलाई प्लास्टिकजन्य पदार्थमुक्त बनाउनका लागि प्रभावकारी रणनीतिहरूमा छलफल गरिएको थियो।
प्लास्टिकजन्य पदार्थमुक्त अभियानलाई प्रभावकारी बनाउन चोकचोकमा सिसी क्यामेरा जडान गर्ने, गाउँबस्तीका टोल सुधार समिति र आमा समूहलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिने तथा जनचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ। साथै, प्लास्टिकजन्य पदार्थसम्बन्धी ऐनलाई संशोधन गर्दै बजार क्षेत्रमा कडाइका साथ नगर प्रहरी परिचालन गर्ने र आवश्यक भए थप प्रहरी नियुक्त गर्ने योजना रहेको विपद् शाखा प्रमुख शुलोचना खड्काले जानकारी दिएकी छिन्।
































