अत्तरियामा ‘जीवन यात्राका सम्झना’ कृतिको भव्य लोकार्पण

Image
Nisarga Hospital

साहित्यकार तथा शिक्षक कोमल बहादुर ओलीद्वारा लिखित जीवन यात्राका सम्झना नामक कृतिको सोमबार अत्तरियामा भव्य समारोहका बीच लोकार्पण गरिएको छ। प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियाद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा. टीएन जोशीले उक्त कृतिको विमोचन गरेका हुन्।

CP Hospital Dhangadhi

कृतिको लोकार्पण गर्दै उपकुलपति डा. जोशीले लेखक कोमल बहादुर ओलीले जीवन यात्राका सम्झना मार्फत राष्ट्र, राष्ट्रियता, र मानवीय संवेदनालाई गहिरो रूपमा उजागर गरेको बताए। उनले कृतिले समाजका विकृति र विसंगतिहरूलाई प्रभावकारी रूपमा चित्रण गरेको उल्लेख गर्दै लेखकलाई शुभकामना व्यक्त गरे।

उपकुलपति जोशीले स्रष्टाहरूलाई समाजका अमूल्य निधि बताउँदै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान स्रष्टाहरूको हकहित र उत्थानका लागि क्रियाशील रहेको जनाए। साथै, समृद्ध सुदूरपश्चिमको नारालाई साकार पार्न भाषा, साहित्य र संस्कृतिको विकास अपरिहार्य रहेको उनको धारणा थियो।

nawajiwan
Attariya Hospital

समारोहमा पूर्व सांसद यज्ञराज पाठकले समाज परिवर्तनमा साहित्यकारहरूको महत्वपूर्ण भूमिका हुने भन्दै राज्यले स्रष्टाहरूलाई सम्मान गर्नुपर्ने बताए। प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष जगन्नाथ जोशीले जीवन यात्राका सम्झना कृति जीवनी, कविता, र गीतहरूको सँगालो भएको उल्लेख गर्दै कृतिले समाजको यथार्थ चित्रण गरेको धारणा व्यक्त गरे।

कृतिका लेखक कोमल बहादुर ओलीले आफ्नो जीवनका तीता-मीठा अनुभवलाई कृतिमा उतार्ने प्रयास गरेको जानकारी गराए।

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा दुर्गालक्ष्मी क्याम्पसका प्रमुख डा. नरेन्द्र ऐर, वडाध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट, वरिष्ठ कवि निर्मल कुमार भण्डारी, लेखक कोमलका दाजु गम बहादुर ओली, डा. यज्ञराज पाठक, नरेन्द्रराज शर्मा लगायतले विमोचित कृतिमाथि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो।