गोदावरी नगरपालिका वडा नं १२ मा बर्थिङ सेन्टरको शिलान्यास

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नं १२ को कोल्मुडा क्षेत्रमा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ। नगर प्रमुख बिरेन्द्र भट्टले शिलान्यास गर्दै यस क्षेत्रका महिलाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न यो केन्द्र महत्वपूर्ण हुने बताए।

CP Hospital Dhangadhi

सुगम पालिकाको दुर्गम वडा मानिने वडा नं १२ को सिम, सल्लिचाप, हलमुडे लगायतका स्थानमा आधारभूत स्वास्थ्य सेवाको अभाव थियो। विशेष गरी, प्रसूति सेवाको अभावका कारण महिलाहरू अकालमै ज्यान गुमाउने गरेका थिए। यसै कारण, नगरपालिकाले सुरक्षित मातृत्व सेवाका लागि बर्थिङ सेन्टर स्थापना गर्न पहल गरेको नगर प्रमुख बिरेन्द्र भट्टले बताए।

 
nawajiwan

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले चुनावी प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै लैजान लागेको बताए। “विगतमा यहाँका जनताले सिटामोलसमेत खान समस्या भोग्नुपरेको अवस्था थियो। अहिले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिसकेका छौं, र अब बर्थिङ सेन्टरले सुरक्षित मातृत्व सेवामा महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले भने।

कार्यक्रममा वडा अध्यक्ष भीम बहादुर खड्काले नगरपालिकाले बजेट विनियोजन गरेर बर्थिङ सेन्टर स्थापना गर्न सहयोग गरेकोमा नगर प्रमुख भट्टलाई धन्यवाद दिए। उनले यो परियोजना सफलतापूर्वक सम्पन्न गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, र समुदायबीच समन्वय आवश्यक रहेको बताए।

Attariya Hospital

स्थानिय बासिन्दाहरूले बर्थिङ सेन्टर स्थापनाले धेरै महिलाहरूलाई राहत दिने विश्वास व्यक्त गरेका छन्। स्थानीय प्रेम विकका अनुसार स्वास्थ्य सुविधासँगै एम्बुलेन्स सेवाको पनि आवश्यक रहेको छ। “बर्थिङ सेन्टर खुलेपछि पनि आकस्मिक अवस्थामा अस्पताल लैजान कठिनाइ हुने भएकाले अब पालिकाले एम्बुलेन्स सेवाको व्यवस्था गर्ने अपेक्षा गरेका छौं,” उनले भने।

नगरपालिकाले सुरक्षित मातृत्व सेवाको पहुँच बढाउन बर्थिङ सेन्टरलाई अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित सञ्चालन गर्ने तयारी गरेको छ। यसले दुर्गम क्षेत्रका महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत गर्ने विश्वास गरिएको छ।