
चितवनमा गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गुरुङले भरतपुर विमानस्थल नजिक रहेको लड्स प्लाजामा खाना खाएका थिए।

खाना खाने क्रममा अमलेटभित्र माछाको काँडा भेटिएपछि घटना सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले होटलका दुई कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा खाद्य तयारी तथा सरसफाइ प्रक्रियामा लापरबाही देखिएको निष्कर्ष निकाल्दै सम्बन्धित निकायले होटलमाथि ३ लाख रुपैयाँ जरिबाना गरेको जनाएको छ।

प्रहरीले यो घटना सामान्य त्रुटि, खाद्य व्यवस्थापनको कमजोरी वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान जारी राखेको छ। घटनाले होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर, सरसफाइ र उपभोक्ता सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
































