सरकारी विद्यालयमा विश्वासको नयाँ पहिचान : कृष्णपुरका शिक्षकहरूले आफ्ना सन्तान सरकारी विद्यालयमै भर्ना गराउँदै उदाहरणीय पहल

Image
Nisarga Hospital

शिक्षाको गुणस्तर अभिवृद्धिको प्रयासस्वरूप कृष्णपुर नगरपालिकाका शिक्षकहरूले आफू उदाहरण बन्ने उद्देश्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै भर्ना गराएका छन्। “शिक्षक शिक्षाको मेरुदण्ड हुन्” भन्ने भनाइलाई व्यवहारमा उतार्दै उनीहरूले सरकारी विद्यालयप्रति जनविश्वास बढाउने कदम चालेका हुन्।

CP Hospital Dhangadhi

कञ्चन माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरीका छोरा अनुपराज चौधरी र भतिजा आयुष चौधरी, सहायक प्रधानाध्यापक चक्र पालका छोरा अनिश पाल लगायत अन्य शिक्षकहरूको सन्तान दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय (गोदावरी, कैलाली) मा अध्ययनरत छन्।

यसैगरी, शिक्षिका पुष्पा भट्ट, हरिना पण्डित, शिक्षक अमित राना र मिलन रानाका परिवारका सदस्य पनि गेटा र कृष्णपुरस्थित विभिन्न सरकारी विद्यालयमा भर्ना भएका छन्।

nawajiwan

कृष्णपुर–६ स्थित सरस्वती माविका प्रधानाध्यापक तारानाथ ओझाले निजी विद्यालयमा अध्ययनरत आफ्ना छोरा कृष ओझालाई सरकारी विद्यालयमा भर्ना गराएका छन्। यसैगरी, समैजी माविका प्रधानाध्यापक हसीना जोशीले पनि छोरीलाई निजी विद्यालयबाट निकालेर सरकारी विद्यालयमा भर्ना गरेकी छन्।

नगरप्रमुख हेमराज ओझाको सहमति र कार्यपालिकाको निर्णय अनुसार गरिएको यस पहललाई प्रेरणादायी प्रयासको रूपमा स्वागत गरिएको छ। प्रधानाध्यापक चौधरीका अनुसार, “गुणस्तर शिक्षक, आवश्यक पूर्वाधार र समुचित वातावरण भएका विद्यालयहरू छनोट गरी यो कदम चालिएको हो।”

Attariya Hospital

यस कदमको मूल उद्देश्य भनेकै ‘सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा सम्भव छ’ भन्ने सन्देश दिनु हो। निजी विद्यालयतर्फ अभिभावकहरूको आकर्षण बढ्दो क्रममा रहेका बेला, सरकारी शिक्षकहरूले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा भर्ना गर्नु एक सशक्त सन्देशका रूपमा आएको छ।

केही शिक्षकहरूले दूरीको कारणले कार्यरत विद्यालयमा नभई अन्य नजिकका सरकारी विद्यालय रोजेको स्पष्ट पारेका छन्।

दुर्गालक्ष्मी नमुना माविले कृष्णपुर नगरपालिकाका अन्य विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूको भर्ना प्रक्रियामा योगदानको कदर गर्दै विशेष धन्यवाद व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापक इन्द्र बोहराले “दुर्गालक्ष्मीलाई विश्वास गरी रोज्नु भएकोमा” सबैलाई आभार प्रकट गरेका छन्।

यो उदाहरणीय पहलले सरकारी विद्यालयप्रति जनविश्वास पुनःस्थापना गर्ने, निजी–सरकारी विद्यालयबीचको खाडल घटाउने र शिक्षामा दीर्घकालीन सुधार आवश्यक छ भन्ने सन्देश दिएको छ।