
भारतले जम्मु–काश्मीरमा भएको भीषण आतङ्कवादी हमलाको विरोध गर्दै साथ दिएको भन्दै नेपाल सरकार, नेपाली जनसमुदाय र सञ्चार माध्यमप्रति धन्यवाद व्यक्त गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित भारतीय दूतावासमा सञ्चार सम्पादकहरूसँगको छलफलमा उक्त कृतज्ञता प्रकट गरे।

राजदूत श्रीवास्तवले “आतङ्कवाद विरुद्ध विश्व एक हुनुपर्छ” भन्दै नेपाल सरकार र नेपाली जनताको समर्थनप्रति आभार व्यक्त गरे। पत्रकार भेटघाटमा उनले पाकिस्तानको आतङ्ककारी संगठन ‘द रेसिस्टेन्ट फोर्स (TRF)’ले गत २२ अप्रिलमा काश्मीरको पहलगाममा गराएको हमलामा एक नेपालीसहित २६ निर्दोष नागरिकको ज्यान गएको पुष्टि गरे।
उक्त घटनालाई पाकिस्तान सरकारको योजनाबद्ध कुटनीतिक उक्साहटको हिस्सा भन्दै उनले पछिल्ला घटनाक्रम, ड्रोन आक्रमण, मिसाइल प्रहार तथा भारतीय चेकपोष्टमा भएको क्षतिका विषयमा जानकारी दिए। उनका अनुसार भारत संयमता अपनाउँदै पनि जवाफी कारवाही गर्न बाध्य भएको हो।


श्रीवास्तवले पाकिस्तानबाट फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै भने, “भारत द्वन्द्व चाहँदैन, तर राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामा सम्झौता गर्ने पक्षमा पनि होइन।” उनले भारतीय मिडिया जिम्मेवार रूपमा प्रस्तुत भइरहेको भन्दै सत्य समाचारका लागि आधिकारिक स्रोतमा भर पर्न अनुरोध गरे।
नेपालको प्रधानमन्त्रीसँग आजै भेट भएको जानकारी दिँदै राजदूतले प्रधानमन्त्रीबाट भारतप्रति ऐक्यबद्धता प्रकट भएको तथा नेपालको भूमि आतङ्कवादविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोरिएको बताए।
साथै, भारतले नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै समस्या नआउने स्पष्ट पार्दै पेट्रोलियम तथा अन्य वस्तुहरूको सहज आपूर्तिको आश्वासन दिए। राजदूतले सीमामा सुरक्षा सतर्कता कडा गरिएको जनाउँदै घुसपैठ तथा अवाञ्छित गतिविधि रोक्न दुवै देशले विशेष ध्यान दिनुपर्ने धारणा राखे।




















