
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देशको मौसममा देखिएको छ।

यसैका कारण बिहीबार बिहान कोशी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।
झापाको कन्चना मापन केन्द्रमा पछिल्लो एक घन्टामा ८ मिलिमिटर वर्षा मापन गरिएको छ।
मोरङ, सुनसरी र इलामका केही स्थानमा पनि पानी परेको पुष्टि महाशाखाले गरेको छ।
पछिल्लो ६ घन्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हल्का वर्षा भएको जानकारी महाशाखाको वेबसाइटमा उल्लेख छ।


दिउँसोको पूर्वानुमान:
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेश र देशका पहाडी भू–भागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च–पहाडी तथा हिमाली भू–भागहरूमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने प्रक्षेपण गरिएको छ।
रातिको पूर्वानुमान:
बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा पहाडी भू–भागहरूका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि हिमाली क्षेत्रहरूमा हल्का हिमपात वा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यात्रा गर्ने, हिमाली क्षेत्र जान चाहने तथा कृषकहरूलाई सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
बिजुली चट्याङ र भूस्खलनको जोखिम हुने भएकाले सुरक्षा मापदण्ड पालना गर्न विशेष आग्रह गरिएको छ।




















