
इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा यसपटक नयाँ च्याम्पियन जन्मिन लागेको छ। पञ्जाब किङ्सले क्वालिफायर–२ मा पाँच पटकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै दोस्रो पटक फाइनल यात्रा तय गरेको छ। अब पञ्जाबले आगामी ३ जुनमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग उपाधिका लागि भिडन्त गर्नेछ।

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा २०४ रनको विशाल लक्ष्य पछ्याउँदै पञ्जाबले १९ ओभरमै जीत हासिल गर्यो। कप्तान श्रेयस अयरको विस्फोटक ब्याटिङ प्रदर्शन खेलको निर्णायक रह्यो। उनले ४१ बलमा अविजित ८७ रन बनाए, जसमा ५ चौका र ८ छक्का समावेश थिए।
नेहल वाधेराले ४८ रन र जोश इंग्लिसले ३८ रनको योगदान दिए। बलिङतर्फ मुम्बईका अश्विनी कुमारले २ विकेट लिए।


यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४ रन बनाए भने जोनी बेयरस्टोले ३८ रन जोडे। पञ्जाबका अजमतुल्लाह उमरजईले २ विकेट लिए।
यस जितसँगै पञ्जाबले २०१४ पछि पहिलोपटक फाइनल प्रवेश गर्दै आईपीएल इतिहासको एउटा नयाँ अध्याय लेखेको छ।
पञ्जाब र आरसीबी—दुवै टोलीले अझसम्म आईपीएल उपाधि जित्न सकेका छैनन्। यसैले, ३ जुनको महामुकाबलामा जो जित्छ, उसैले पहिलो पटक आईपीएल च्याम्पियनको ताज पहिरिनेछ।

















