
नेपाली क्रिकेट टोली सोमबार स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समय अनुसार खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको आयोजक स्कटल्यान्डसँगको हारपछि नेदरल्यान्ड्स पहिलो जितको खोजीमा छ। नेपाल पनि सिरिजमा विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। सोमपाल कामी र गुलसन झा घाइते भई सिरिजबाट बाहिरिएपछि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले टिममा स्थान पाएका छन्।


स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले यसअघि सम्पन्न विश्वकप लिग–२ अन्तर्गतका चार खेलमध्ये तीनमा विजय हासिल गरेको थियो। लिग–२ को सफलतापछि टी–२० सिरिज नेपाली टोलीका लागि थप अभ्यास र आत्मविश्वासको अवसर बनेको छ।
यस सिरिजमा नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड सहभागी छन्। सिरिज नेपालका लागि आगामी प्रतियोगिताहरूको तयारीका दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ।
































