
स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको छ। निर्धारित २० ओभरको खेल बराबरी भएपछि पहिलो र दोस्रो सुपर ओभर पनि बराबरीमा टुंगिएपछि खेल तेस्रो सुपर ओभरसम्म पुग्यो।

तेस्रो सुपर ओभरमा नेपालका कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए भने, डेब्यू खेल खेलिरहेका रुपेश कुमार सिंहले बाँकी तीन बल डट खेलेपछि नेपाल रनविहीन रह्यो। त्यसअघि, पहिलो सुपर ओभरमा दुवै टोलीले १९ रन र दोस्रोमा १७ रन बनाएका थिए।
नेपालले नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउँदै ७ विकेट गुमाएर १५२ रन बनाएपछि खेल टाई भएको थियो। कप्तान रोहितले ३४ बलमा ४८ रन (३ चौका, २ छक्का), ओपनर कुशल भुर्तेलले ३४ रन, किरण ठगुन्नाले १५ र रुपेशले १९ रन बनाए।


नेदरल्याण्ड्सका डेनियल डोरमले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए।
पहिले ब्याटिङ गर्दै नेदरल्याण्ड्सले ७ विकेट गुमाएर १५२ रन बनायो। तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए भने विक्रमजित सिंहले ३०, सकिब जुल्फिकरले २५ र माइकल लेभिटले २० रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ३, नन्दन यादवले २ तथा कुशल भुर्तेल र ललित राजवंशीले समान १ विकेट लिए। सिरिजअन्तर्गत नेपालले अब स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।





























