
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको जानकारी अनुसार आगामी २४ घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा र अन्य प्रदेशका केही उचाइयुक्त क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने अनुमान गरिएको छ।


आज राति देशभर सामान्य बदली हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।
हाल देशभर मनसुनी वायु सक्रिय छ र न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित छ, जसका कारण वर्षाको सक्रियता उच्च देखिएको मौसमविद्हरूले जनाएका छन्।
सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
































