देशभर आज गुरु पूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

Image
Nisarga Hospital

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। ज्ञान, दीक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्दै विद्यालय, गुरुकुल र विभिन्न सङ्घ–संस्थाहरूले विविध कार्यक्रम गरी यो पर्व मनाइरहेका छन्।

CP Hospital Dhangadhi

‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने धार्मिक व्याख्या छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकार हटाउने व्यक्तिलाई नै गुरु भनिन्छ। तन्त्रशास्त्र तथा धर्मशास्त्रका अनुसार गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानिएको छ। त्यसैले शास्त्रमा भनिएको पाइन्छ—

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ।।

nawajiwan

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, माता–पिताजस्तै गुरुलाई पनि देवतासमान मानिने भएकाले ‘आचार्यदेवो भव’ भनिएको हो।

यस अवसरमा विद्यालयहरूमा विशेष कार्यक्रम आयोजना गरी शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरिन्छ।

Attariya Hospital

व्यास जयन्ती पनि आजै
आजैको दिन वेदव्यासको जन्मजयन्ती पनि हो। ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको सार जनमानससम्म पुगोस् भन्ने उद्देश्यले १८ पुराण र १८ उपपुराणको रचना गरेका व्यासलाई सम्झेर आज व्यास जयन्ती मनाइन्छ।

व्यासले मानवतावादी सन्देश दिँदै लेखेका छन्—

अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम् ।
परोपकारः पुण्याय, पापाय परपीडनम् ।।

अर्थात्, अरूको भलो गर्नु पुण्य र अरूलाई दुःख दिनु पाप हो। व्यासद्वारा रचित महाभारत पनि पाँचौँ वेदका रूपमा चिनिन्छ।

गुरु पूर्णिमा र व्यास जयन्तीका अवसरमा देशभरका शिक्षालय, गुरुकुल र धार्मिक संस्थाहरूले विविध श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिरहेका छन्।