
हाल देशभर मनसुनी वायुले प्रभाव जमाउँदै आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ।

यसको प्रभावस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली रहँदा बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबारका लागि यस्तो छ पूर्वानुमान :
देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।


त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
महाशाखाको आग्रह : सतर्कता आवश्यक
सम्भावित वर्षाले गर्दा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान (फ्ल्यास फ्लड) बहावको जोखिम रहने, साथै तराई र सहरी क्षेत्रहरूमा डुबानको सम्भावना समेत रहेकोले नागरिक तथा सरोकारवाला निकायहरूलाई सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।































