
स्वतन्त्रताको उदेश्य खास कस्तो हनुुपर्छ,
यही सोचेर हुन्छु दङ्गदाश कस्तो हुनुपर्छ।
अनुशासन त तानासाह हुनेभयो घरमैपनि,
यहाँभन्दा नि ठुलो उपहास कस्तो हुनुपर्छ।
कसैको प्रवेशले घर पनि मन्दीर बन्छ अरे,
खै तर यहाँभन्दा सत्यानाश कस्तो हुनुपर्छ।
नाङ्गै आएका भन्छन् सबै मेरै हो दुनियाँ नै,
भन यो भन्दा ठुलो बक्वास कस्तो हुनुपर्छ।
घर एकढिक्का बनाउँ भन्ने तानासाह भयो,
फुटेका भए यहाँ भन्दा पास कस्तो हुनुपर्छ।
भन्छन् हिँजो बटौलीबाट पैदल नुन् बोक्नेले,
घरमै दोकान यो भन्दा विकास कस्तो हुनुपर्छ।

॥१ः॥
छाडेर जान्छौँ सपनाको संसार एकदिन,
आफ्नै प्रछाईँले पनि गर्ला प्रहार एकदिन।
जिन्दगि भुल्छन् भुल्नेहरू कर्तव्य साँची,
हुनेछन् उनै यो देशका कर्णधार एकदिन।
पगालछन् पत्थर पनि मायाँको शब्दले,
बन्छन् उनै नि धारिलो हतियार एकदिन।
सम्झेका छौ जसलाई गरिब नागरिक हो,
हुनेछन् राष्ट्रका साँचा बफादार एकदिन।
जसलाई तिमिले सम्झिन्छौ क्रान्तिकारी,
बनेर देखाउनेछन् दुष्ट उहीजार एकदिन।
पैसालाई कम न आँक्नु वेइमान बनायो,
यसैले बनाईदिन्छ मित्र खुँखार एकदिन।

॥२॥

भाइ भाइहरू विचमा यसरी कुटामार भएपछि,
कसरी बलियो हुन्छ घर यस्तै व्यवहार भएपछि।
भन्छौ दुश्मन लाग्यो हाम्रो घरमा र लुट्यो उसैले,
दुश्मन बलियो हुनेरैछ यार भाई गद्धार भएपछि।
जसले जनमायो ताते ताते गरायो अक्षर चिनायो,
उहि अपहेलित छ उस्को आफ्नै संसार भएपछि।
बाबा आमाले जो गर्छन् त्यो उन्को कर्तव्य होला,
जिउँदै मर्नुपर्ने औलादको जिब्रामा धार भएपछि।
पक्कै पनि यस्तो दिन सबैमा घुमेर आउछ होला,
ज्ञान हुन्थ्यो आउने दिनकै त्यो समाचार भएपछि।
यहाँ त वर्षै पछि सरकार बन्छन् आफ्नो के भनौँ,
कसरी बलियो हुन्छ देश नीतिमै व्यापार भएपछि।
॥३॥
कति दिन जीवित रहन्छ अहंकार लेखेर राख,
त्यो दिन अवश्य आउछ समाचार लेखेर राख।
देशभक्तहरू दुनियामा पुगेकाछन् बास खोज्दै,
एक दिन अवश्य बद्लिन्छ संसार लेखेर राख।
कहिले घाम त कहिले जुन एकनास हुदैन सधैँ,
मिल्छ परिणाम गरे राम्रो व्यवहार लेखेर राख।
अहिले अनूकुल छैन परिस्थिती हाम्रो देशको,
विरको देशमा जन्मिनेछन् औतार लेखेर राख।
मानो छानोकै लागि परदेश जाने युवाहरू पनि,
सधैँ बन्ने छैनन् दुश्मनको हतियार लेखेर राख।
देशभित्र दलाल मात्र हुन्छन् सम्झने भुल नगरौँ,
धेरै छन् हाम्रो देशमा वीर बफादार लेखेर राख।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























