
अत्तरियाः सडक मानव, बेवारिसे मानसिक रोगी र विपन्न बालबालिकाको सेवा गर्दै आइरहेको दृष्टि फाउन्डेसनले अब अशक्त र बेसहारा वृद्ध आमाहरूका लागि सुरक्षित आश्रयको व्यवस्था थालेको छ। उद्धार गरिएका केही वृद्ध आमाहरू मानसिक रोगी नभई अशक्त र बेसहारा भएको पाइएको थियो। तर उनीहरू मानसिक रोगीहरूसँग बस्न बाध्य हुँदा बारम्बार गाली–कुटपिट सहनुपरेको थियो। यस्तो पीडादायी अवस्थाबाट उन्मुक्तिका लागि फाउन्डेसनले वृद्ध आमाहरूका लागि छुट्टै शाखा सञ्चालन गर्ने निर्णय गर्यो।

तर नयाँ शाखा सञ्चालन गर्न आर्थिक चुनौती थियो। यसबारे फाउन्डेसनकी संचालक कल्पना भट्टले समाजसेवी लोकराज पाण्डेयलाई जानकारी गराइन्। लोकराज पाण्डेयमार्फत अमेरिका निवासी समाजसेवी रामबहादुर देउवासम्म समस्या पुगेपछि केही दिनमै सहयोगका लागि ‘दृष्टि फाउन्डेसन सहयोगी समूह’ गठन भयो।
यो समूहमा रामबहादुर देउवासहित उपेन्द्र भट्ट, ललित चन्द, नवीन ओझा, गणेश विष्ट (क), गणेश विष्ट (ख) जस्ता अग्रसर समाजसेवीहरू संलग्न छन्। उनीहरूले १ वर्षसम्म मासिक ७१ हजार रुपैयाँ सहयोग गर्ने अठोट मात्र होइन, पहिलो महिनाको खर्च अग्रिम पठाइसकेका छन्।


संचालक भट्ट भन्छिन्, “यो सहयोगले सडकमा बेसहारा भएकी आमालाई सुरक्षित जीवनको आशा दिएको छ। अझ धेरै मनकारीहरूको सहकार्य आवश्यक छ।”
यो सहयोग दृष्टान्त बनेको छ—जब देश भित्रका समस्या समाधान गर्न विदेशमा रहेका नेपालीहरूले माया र सहानुभूति बाँड्छन्, तब जीवन फेरिन्छ।
































