
अत्तरिया: सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पछिल्ला तीन सातादेखि मन्त्रीविहीन अवस्थामा सञ्चालन भइरहेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका नेता रामेश्वर चौधरीलाई असार १९ गते बर्खास्त गरेपछि मन्त्रालयमा हालसम्म नयाँ मन्त्री नियुक्त गरिएको छैन।

चौधरी बर्खास्त भएको २२ दिनसम्म मन्त्रालयले विभागीय मन्त्री पाउन नसकेको हो। हाल उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाह आफैंले सम्हालिरहेका छन्। उनले भने, “केन्द्र सरकारबाट राज्यमन्त्री नहटेसम्म नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा आउने कुरामा ढुक्क छु। मन्त्रालय पनि उन्मुक्तिले नै पाउँछ। एक–दुई दिनमा पुनः संवाद गर्छु।”
मुख्यमन्त्री शाह चौधरीप्रति असन्तुष्ट बनेको कारण बजेट निर्माणमा वित्तीय अनुशासन नमान्नु, खप्तड क्षेत्र पर्यटन विकास समितिमा सल्लाहबिना कार्यकारी निर्देशक नियुक्त गर्नु र कृषकका लागि वितरण गरिएको पावर टिलरसम्बन्धी लेनदेन आरोप प्रमुख छन्।


यसअघि पनि नाउपा सांसद लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनको अडियो विवादपछि चैत १६ गते पदबाट राजीनामा दिएका थिए।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भने, “विभागीय मन्त्री नहुँदासम्म फाइलहरू मुख्यमन्त्रीमार्फत अघि बढाइरहेका छौं। दैनिक कार्य सञ्चालनमा भने समस्या छैन।”
सरकार विस्तारबारे अनिश्चितता कायमै रहेको सन्दर्भमा मन्त्रालयको दीर्घकालीन नीति र निर्णयहरू भने अन्योलमै देखिएको छ।































