आज भीमदत्त पन्त स्मृति दिवस, यस्तो थियो विद्रोहदेखि विचारसम्मको जनयात्रा

Image
Nisarga Hospital

जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उसले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ।

CP Hospital Dhangadhi

आज देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै छ । तर, यो दिवस केवल सम्झनाको औपचारिकता नभई विचार र आन्दोलनको पुनः स्मरण र कार्यान्वयनको आह्वान पनि हो । विसं १९८३ मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका थिए । धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा मार्क्सवादको सङ्गमले उनीभित्रको विद्रोही चेतनालाई झन प्रज्वलित बनायो ।

सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहारले भने, “शिक्षाले उनी विद्वान्मात्र हैन, सामाजिक न्यायको लागि समर्पित योद्धा बने, गीता र मार्क्सलाई आत्मसात् गरेर उनले वर्गीय विभाजनमाथि प्रश्न उठाए ।”
उनका अनुसार विसं २००७ देखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए । उनले नेतृत्व गरेको आन्दोलनले भीमदत्त कांग्रेसको संज्ञा दियो । विसं २००९ वैशाख २ गते डडेलधुराको घटालथानमा उनले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, “अब कुनै जाति ठुलो सानो छैन ।”

nawajiwan

त्यसैगरी पूर्वसांसद निरा जैरूले भन्छन्, “भाषणमा होइन, उहाँले व्यवहारमै जातीय विभेद तोड्नुभयो, एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा उहाँले सुरु गर्नु भयो ।” भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गरेका थिए । उनले बेदखली रोके, तमसुख जलाए । “सामन्तीलाई विस्थापित गर्ने यो उहाँको महानता थियो”, जैरुले भने, “जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह सम्झन लायक छ ।”

हलिया नेता राजुराम भूलले भने, “हामी हलिया मात्र होइन, नागरिक हौँ भन्ने आत्मविश्वास भीमदत्तबाट पायौँ, उहाँ केवल नेता थिएनन्, हाम्रो आत्मसम्मानका संवाहक थिए, आन्दोलन पुरा नहुँदै उहाँले सहादतप्राप्त गर्दा मुक्तिका लागि वर्षौ पर्खिनुपर्‍यो ।”

Attariya Hospital

उनका अनुसार भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गइलेकमा उनलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो । परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो ।

“भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरु पनि”, भूमि अधिकारकर्मी रामबहादुर चुनारा भन्छन्, “त्यसपछिका आन्दोलनहरूले पनि उहाँको प्रेरणालाई जीवित राख्दै आएका छन् ।” सहिद पन्तले तत्कालीन समयमा दिएका नाराहरू उत्तिकै सान्दर्भिक रहेको उनी बत्ताउँछन् । नेता पन्तले भन्ने गथ्र्ये, “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो ।” अधिकारकर्मी चुनारा थप भन्छन्, “बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो । उठ जागरे, नेपाली नवजवान जागरे ।”

विसं २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई सहिद घोषणा गरेको थियो । चुनारा भन्छन्, “ नेता पन्तको सपना तव मात्रै पूरा हुन्छ, जब भूमिहीन, सुकुम्वासी र बाढीपीडितलाई जग्गा दिइन्छ, कृषि आत्मनिर्भरता सुनिश्चित गरिन्छ, शिक्षा, स्वास्थ्य, रोजगारी सबैमा समान पहुँच हुन्छ, न्याय, समानता र समावेशीताको मूल्य व्यवहारमा लागू गरिन्छ ।”

भीमदत्त पन्त आज भौतिक रूपमा उपस्थित छैनन् । तर उनका विचारहरू, सपना र बलिदानले आजको भूमिहीनको आवाजलाई मार्गदर्शन गरिरहेको भूमि अधिकारकर्मीहरू बत्ताउँछन् ।