
स्याङ्जा : अविरल वर्षाका कारण अवरुद्ध बनेको स्याङ्जा–पर्वत सडक खण्ड अझै पनि सञ्चालनमा आउन सकेको छैन।
वालिङ नगरपालिका–१४, डुम्रेभन्ज्याङ क्षेत्रमा गएको पहिरोका कारण सोमबार बिहानदेखि सडक अवरुद्ध भएको हो।

स्थानीय वडा अध्यक्ष बोधराज कुँवर (राजु) का अनुसार, सोमबार दिनभर पहिरो हटाउने प्रयास गरिएको थियो। तर, ठूला–ठूला पहिरोका कारण काम अगाडि बढाउन कठिनाइ भएको उनले जानकारी दिए।
“आज बिहानदेखि पानी पर्न रोकेको छ, त्यसैले पहिरो हटाउने काम फेरि सुरु गर्न लागिएको छ,” उनले बताए।


ग्रामीण सडकहरू पनि अवरुद्ध
वालिङदेखि पर्वतको पयुँ र व्यादी जोड्ने सडकसमेत पहिरोका कारण अवरुद्ध बनेको छ। सडक बन्द हुँदा यात्रुहरू अलपत्र पर्नुका साथै आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
तीन दिनदेखि परेको निरन्तर वर्षाले स्याङ्जाका धेरैजसो ग्रामीण सडकहरू पनि ठप्प बनेका छन्।
सुरक्षा सतर्कता
यसैबीच, स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बाढी, पहिरो तथा बहाव भएका क्षेत्रमा नजान आग्रह गरेका छन्।
उनले यात्रुहरूलाई रातको समयमा यात्रा नगर्नु र यात्रा गर्दा पूर्वसावधानी अपनाउन सुझाव दिएका छन्।
✅ सडक खुलाउने प्रयास जारी रहेको र यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखिएको स्थानीय प्रशासनले जनाएको छ।




























