सफल सञ्चारका सात स्तम्भहरू

Image
Nisarga Hospital

सञ्चार केवल सूचना आदानप्रदानको माध्यम होइन, यो मानव सम्बन्ध, सोच र निर्णय प्रक्रियाको मेरुदण्ड हो। चाहे त्यो पारिवारिक संवाद होस्, कक्षाकोठाको शिक्षक-विद्यार्थी संवाद, अफिसको बैठक, वा राष्ट्रिय स्तरको राजनीतिक वहस सञ्चार प्रभावकारी हुन सके मात्र त्यसले सकारात्मक परिवर्तन ल्याउन सक्छ। यिनै सन्दर्भमा “7 Cs of Communication” (Clear, Concise, Concrete, Correct, Coherent, Complete, Courteous) अत्यन्त उपयोगी र समयसापेक्ष मार्गदर्शक बनेका छन्।

CP Hospital Dhangadhi

“7 Cs of Communication” भन्ने अवधारणा सञ्चारको प्रभावकारिता बढाउने एक सुव्यवस्थित, व्यावहारिक र सिद्धान्तमा आधारित रूपरेखा हो। मानव सभ्यता विकासको प्रमुख साधन सञ्चार नै हो, जसले व्यक्ति, समाज, राष्ट्र र संस्कृतिलाई जोड्ने माध्यमको रूपमा काम गर्छ। तर, सञ्चार केवल जानकारी आदानप्रदानको प्रक्रिया नभई सन्देशलाई सही, उपयुक्त, मर्यादित र प्रभावशाली ढंगले बुझाउने र बुझ्ने कलासमेत हो। त्यसैले, “7 Cs” लाई केवल भाषा र लेखनको अभ्यासमा सीमित नराखी व्यापक जीवन पद्धतिमा समाहित गर्नुपर्छ। विशेषतः आजको डिजिटल युगमा, जहाँ संचारको माध्यमहरू विविध छन्, सन्देशहरू तुरुन्तै विश्वव्यापी रुपमा फैलन्छन्, त्यस्ता परिस्थितिमा 7 Cs लाई गहिरोसँग बुझेर यसको अभ्यास नगर्ने हो भने व्यक्तिगत, सामाजिक र संस्थागत सन्देशहरू कमजोर, भ्रमपूर्ण र कहिलेकाहीं विनाशकारी समेत बन्न सक्छन्।

सर्वप्रथम, “Clear” अर्थात् स्पष्टता भन्नाले कुनै पनि सन्देशलाई सरल, सीधा र बुझ्न सजिलो पारामा व्यक्त गर्नु हो। यसले बुझ्न सहज बनाउँछ र गलत व्याख्या वा बुझाइको सम्भावना कम गर्छ। नेपालजस्तो देशमा, जहाँ धेरै क्षेत्रीय भाषाहरू, स्थानीय बोलचाल र संस्कृतिको विविधता विद्यमान छ, त्यहाँ सञ्चार गर्दा स्पष्टताको ख्याल नगर्दा सूचना गलत रुपमा व्याख्या हुने सम्भावना प्रचुर हुन्छ। साथै, सरकारी सूचना, शैक्षिक पाठ्यक्रम, स्वास्थ्य सन्देश वा कानुनी कागजातहरूलाई जनसाधारणका लागि सहज र स्पष्ट भाषामा अनुवाद गर्न नसक्दा नागरिकहरूको सहभागिता कमजोर रहन्छ। यसले नीतिगत असमानता र सहभागितामूलक लोकतन्त्रमा प्रतिकूल असर पार्न सक्छ। स्पष्टता केवल भाषिक विषय होइन, यसले सन्देश दिने व्यक्तिको सोचको स्पष्टता, उद्देश्यको पारदर्शिता र श्रोताको बुझाइको पूर्वानुमानको दक्षतालाई पनि संकेत गर्छ। स्पष्ट नभएका सन्देशहरूले श्रोताको समय, ध्यान र ऊर्जा बर्बाद गर्छन्।

nawajiwan

दोस्रो, “Concise” अर्थात् संक्षिप्तता भनेको अनावश्यक शब्दावली, बकबक वा घुमाउरो व्याख्या हटाई मूल विषयमा केन्द्रीत रहनु हो। संक्षिप्त सञ्चारले समयको बचत मात्र गर्दैन, श्रोतालाई महत्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न सहयोग पनि गर्छ। तर, संक्षिप्तताको नाममा अधूरो सन्देश दिनु, भावनात्मक पक्ष बेवास्ता गर्नु वा आवश्यक पृष्ठभूमि नदिएर कुरा छोट्याउनु भने खतरनाक हुन सक्छ। नेपालमा प्रायः राजनीतिक वक्तव्यहरू, प्रेस विज्ञप्तिहरू वा सरकारी सूचना सन्देशहरू यति अधिक औपचारिक र सामान्यीकृत भाषा प्रयोग गरेर छोट्याइन्छ कि त्यसको वास्तविक आशय बुझ्नै गाह्रो हुन्छ। त्यस्तै, सामाजिक सञ्जालमा देखिने ट्रेन्डहरूले पनि संक्षिप्तता र संवादको गहिराइबीच द्वन्द्व खडा गर्छन्। संक्षिप्त सन्देश प्रभावशाली हुन्छ भनेको सत्य हो, तर त्यो संक्षिप्तता पूर्णता, स्पष्टता र संवेदनशीलताको क्षतिमा आधारित हुनु हुँदैन।

तेस्रो, “Concrete” भन्ने पक्षले सन्देशको ठोसता, तथ्यमा आधारितता र यथार्थताको आवश्यकतालाई उजागर गर्छ। सञ्चारको अर्थ विश्वसनीय मात्र होइन, व्यवहारिक पनि हुनुपर्छ। तथ्य, तथ्यांक, उदाहरण वा साक्ष्य प्रयोग गरेर व्यक्त गरिएको सन्देश श्रोताको मनमा स्थान बनाउन सफल हुन्छ। तर, हाम्रो समाजमा विशेष गरी राजनीतिक, सामाजिक वा धार्मिक सन्दर्भमा अमूर्त, प्रचारमूलक र अतिशयोक्तिपूर्ण भाषा अधिक प्रयोग हुने प्रवृत्ति छ। यस्ता भाषाले सन्देशलाई रोचक त बनाउँछ, तर विश्वासनीयता गुमाउँछ। ठोस सञ्चार गर्नका लागि स्रोतको विश्वसनीयता, तथ्यको पुष्टि, उदाहरणको उपयुक्तता, र सन्देशको कार्यगत प्रयोगको मूल्यांकन आवश्यक हुन्छ। शिक्षामा, पत्रकारितामा वा सार्वजनिक प्रशासकीय सेवामा Concrete सञ्चारको अभावले नीति कार्यान्वयन कमजोर बनाउँछ, किनकि कार्यान्वयनकर्तालाई के गर्नुपर्छ भन्ने नै स्पष्ट हुँदैन।

चौंथो तत्व “Correct” को अर्थ केवल व्याकरणको दृष्टिले सही हुनु मात्र होइन, सन्देशको सम्पूर्ण पक्ष सत्य, निष्पक्ष र सन्दर्भानुकूल हुनु पनि हो। शुद्धता सञ्चारको नैतिकता र जिम्मेवारीसँग सम्बन्धित हुन्छ। गलत जानकारीले व्यक्तिको छवि बिगार्न सक्छ, संस्थाको विश्वसनीयता खतरामा पार्न सक्छ र कहिलेकाहीं सामाजिक द्वन्द्वसम्म निम्त्याउन सक्छ। नेपालमा गलत अनुवाद, तथ्यहीन प्रचार, अफवाह र अपुष्ट सूचनाको प्रवृत्तिले सञ्चारको नैतिकता माथि प्रश्न उठाएको छ। विशेषगरी, सामाजिक सञ्जालमा “fact-checking” को संस्कृति कमजोर हुँदा गलत सन्देशहरू तीव्र गतिमा फैलिन्छन्। Correct सन्देशका लागि प्रामाणिक स्रोत, दोहोरो जाँच, सन्दर्भअनुकूलता र पारदर्शिता आवश्यक हुन्छ। लेखनमा मात्र होइन, बोलेका कुरामा पनि यो पक्ष उत्तिकै महत्वपूर्ण हुन्छ।

Attariya Hospital

पाँचौं पक्ष हो “Coherent” अर्थात् सुसंगतता। विचारहरू तार्किक र क्रमबद्ध तरिकाले सुसंगत ढंगले व्यक्त नहुँदा सन्देश गम्भीर भए तापनि त्यसको प्रभाव घट्छ। यो विशेषगरी प्रस्तुतीकरण, निबन्ध लेखन, निर्णय प्रक्रिया वा वार्तालापमा महत्वपूर्ण हुन्छ। नेपालमा पाठ्यपुस्तकदेखि सरकारी प्रतिवेदनसम्म असंगत विचार, अनौपचारिक धाराहरू र अस्पष्ट उद्देश्यका कारण बुझ्न कठिन हुने समस्या विद्यमान छ। सुसंगत सञ्चार बनाउने सीप व्यक्ति स्वयंको बौद्धिक संरचना र सोच्ने क्षमतासँग सम्बन्धित हुन्छ। त्यस्ता सीपहरू अभ्यास, पढाइ, आत्म-समिक्षा र आलोचनात्मक चिन्तनबाट विकास हुन्छन्। यदि सञ्चार सुसंगत छैन भने सन्देशको शक्तिले पनि असर पार्न सक्दैन।

छैटौं तत्व “Complete” भनेको सन्देशले सम्पूर्ण आवश्यक जानकारी समेटेको हुनुपर्छ भन्ने हो। अधुरो सन्देशले भ्रम, गलत निर्णय र प्रतिक्रिया दिने अवसरको क्षति निम्त्याउँछ। कार्यालयमा कुनै निर्देशन वा जानकारी दिँदा सबै पक्षहरू जस्तै के, किन, कसरी, कहिले, कहाँ र को समेटिनुपर्छ। नेपालमा प्रायः सार्वजनिक सूचना वा सूचना प्रवाह अधुरो हुने, मितिहरू वा विवरण उल्लेख नगर्ने, वा केवल परिपत्र पठाएर जिम्मेवारी पन्छाउने प्रवृत्तिले सूचना सम्पूर्ण नबन्ने समस्या देखिन्छ। यस्तो अपूर्ण सञ्चारले पारदर्शिता गुमाउँछ, जवाफदेहिता खल्बल्याउँछ र नागरिक अधिकार कमजोर पार्छ।

अन्तिम तत्व “Courteous” को अर्थ सभ्य, आदरणीय र संवेदनशील भाषाशैलीमा सञ्चार गर्नु हो। भाषिक मर्यादा, सम्मानजनक सम्बोधन, आपसी समझदारी र विनम्रता सञ्चारको आत्मा हो। तर, दुर्भाग्यवश, नेपालमा सामाजिक सञ्जालमा अशिष्ट, दुरभाषा र निन्दापूर्ण अभिव्यक्तिको व्यापकता छ। यसले स्वस्थ संवाद संस्कृतिलाई चुनौती दिएको छ। व्यक्तिगत जीवनमा पनि अभिभावक-शिक्षक, कर्मचारी-प्रशासक वा युवापुस्ता-बृद्धबीच संवादको मर्यादामा कमी देखिन्छ। कुनै पनि सन्देशले मानिसको आत्मसम्मान ख्याल गर्नुपर्छ, अन्यथा त्यस्तो सञ्चार अपमानजनक हुन्छ र सम्बन्ध विग्रन सक्छ। यिनै मूल्यहरू विद्यालयस्तरमै सिकाइनु आवश्यक छ, ताकि सम्पूर्ण पुस्ताले सभ्य संवादको महत्व बुझ्न सकोस्।
यी सातवटा C हरू केवल सैद्धान्तिक सुझाव होइनन्; यी व्यवहारिक, नीतिगत, सामाजिक र मनोवैज्ञानिक सन्दर्भमा अत्यन्त सान्दर्भिक उपकरणहरू हुन्। त्यसैले, यिनीहरूको प्रयोग रणनीतिक रूपमा गर्नुपर्छ। कुनै पनि सन्देश तयार पार्दा चारवटा चरण अनिवार्य छन्: योजना बनाउने (Plan), सन्देश समीक्षा गर्ने (Review), प्रतिक्रिया लिने (Feedback) र आवश्यक परिमार्जन गर्ने (Adjust)। योजना बनाउने क्रममा, सन्देशको श्रोताहरू को हुन्, उद्देश्य के हो, सन्दर्भ कस्तो छ भन्ने कुरा स्पष्ट हुनुपर्छ। सन्देश तयार भएपछि पुनरावलोकन गर्दा 7C को मापदण्ड प्रयोग गर्नुपर्छ—सन्देश स्पष्ट छ कि छैन? पूर्ण छ कि अधुरो? सभ्य छ कि कटु? तेस्रो चरणमा, प्रतिक्रिया लिँदा हामीले अरूको नजरबाट हाम्रो सन्देश कस्तो देखिन्छ भन्ने बुझ्न सक्छौं। अन्ततः, ती प्रतिक्रिया समेटेर सन्देशमा सुधार ल्याउनु आवश्यक हुन्छ। यस्तो चक्रबद्ध अभ्यासबाट मात्र प्रभावकारी सञ्चारको विकास सम्भव हुन्छ।

नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक, शिक्षा तथा साक्षरताको विविध स्तर भएको समाजमा 7 Cs को कार्यान्वयन अझै चुनौतीपूर्ण हुन्छ। सबै नेपालीले एउटै शैली, संरचना वा भाषा प्रयोग गर्दैनन्। कतै मौखिक सञ्चार प्रमुख छ भने कतै लिखित; कतै संकेतमा सञ्चार हुन्छ भने कतै डिजिटल मिडिया प्रमुख माध्यम हो। यी सन्दर्भहरूमा 7 Cs लाई स्थानीय सन्दर्भसँग समायोजन गरी प्रयोग गर्न सक्नुपर्ने हुन्छ। त्यसैले, 7 Cs लाई सार्वभौमिक सूत्रजस्तो होइन, एउटा लचिलो उपकरणको रूपमा बुझ्नु आवश्यक छ, जसलाई विभिन्न माध्यम, भाषा, सांस्कृतिक सन्दर्भ र व्यक्तिहरूका लागि अनुकूल पार्न सकिन्छ।

निष्कर्षमा, “7 Cs of Communication” सञ्चारको गुणवत्ता सुधार गर्ने एक सम्पूर्ण, व्यवहारिक र समयसापेक्ष संरचना हो। यसले सन्देशलाई स्पष्ट, संक्षिप्त, ठोस, सही, सुसंगत, पूर्ण र सभ्य बनाउने सुनिश्चितता दिन्छ। तर, यसको कार्यान्वयन व्यक्ति, संस्था र समाजको चेतना, अभ्यास र संचार संस्कृतिमा निर्भर गर्छ। केवल सिद्धान्त बुझेर मात्र होइन, ती सैद्धान्तिक पक्षलाई दैनिक व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा गहिरो प्रतिबद्धता आवश्यक हुन्छ। विद्यालय, प्रशासन, मिडिया, परिवार, राजनीतिक दल वा कुनै पनि संस्थाले यदि यी 7 C हरूलाई आत्मसात गर्छन् भने समाजमा संवादको गुणस्तर उच्च हुनेछ, पारदर्शिता र जवाफदेहिता बलियो हुनेछ र सामाजिक न्याय, समावेशिता र सहभागितामूलक लोकतन्त्र सुदृढ हुनेछ।

लेखक: डम्मर सिंह साउद
उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस