
नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार शिक्षा विधेयक अगाडि नबढेको भन्दै भाद्रको दोस्रो हप्तादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार काठमाडौंमा बसेको बैठकले आन्दोलनको निर्णय गरेको हो। “सहमति कार्यान्वयन नभएकोले आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय भएको हो,” अध्यक्ष सुवेदीले बताए।


उनका अनुसार आन्दोलनको खाका आन्दोलन परिचालन समितिले तयार गर्नेछ भने त्यसलाई राष्ट्रिय समितिले पारित गर्नेछ। यसअघि महासंघले भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण बैठकसमेत बोलाएको छ।
अध्यक्ष सुवेदीले प्रतिनिधिसभामा विधेयक दर्ता नभएसम्म त्यसको ठोस मूल्यांकन गर्न नसकिने बताए। “शिक्षा समितिमा विधेयकमाथि के भइरहेको छ भन्ने जानकारी छैन,” उनले भने, “विधेयक दर्ता भएपछि मात्रै त्यसले समेटेका विषयबारे अध्ययन गरेर धारणा बनाइनेछ।”
बैठकमा सरकारले अघिल्लो पटक महासंघसँग गरेको सहमति कार्यान्वयनको अवस्था र त्यसबाट सिर्जित असमझदारीमाथि समिक्षा गरिएको थियो। महासंघको बुझाइमा प्रस्तावित शिक्षा विधेयकले विद्यालय तहका समस्या समाधान गर्न सक्ने स्पष्ट संकेत नदेखिएको र समग्र शिक्षक-कर्मचारी सन्तुष्ट हुने गरी विधेयक नआउने आशंका गरिएको छ।





















