बडीमालिकामा भिरबाट लडेका दुई तीर्थयात्रीको शव नेपाली सेनाद्वारा उद्धार

Image
photo by Khemraj Giri
Nisarga Hospital

बाजुराको बडीमालिका नगरपालिका–स्थित विष्णुपानी क्षेत्रमा भिरबाट लडी मृत्यु भएका दुई जना धार्मिक तीर्थयात्रीको शव नेपाली सेनाले उद्धार गरेको छ।

CP Hospital Dhangadhi

२०८२ साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरेर फर्किने क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते भिरबाट लडी घटनास्थलमै ज्यान गुमाएका थिए। दुवै जनाको शव विष्णुपानीको भीरमा अड्किएको थियो।

भौगोलिक कठिनाइका कारण स्थानीय नेपाल प्रहरीले तत्काल उद्धार गर्न नसकेपछि नेपाली सेना खटाइएको थियो। बाजुरास्थित ईश्वरीबक्स गुल्मका गुल्मपति कृष्ण तिमिल्सेनाको नेतृत्वमा पुगेको उद्धार टोलीले स्थानीय समुदाय र नेपाल प्रहरीको सहकार्यमा साउन २४ गते साँझ शव निकाल्न सफल भएको बताइएको छ।

nawajiwan
Attariya Hospital

तिमिल्सेनाका अनुसार, भीरको अप्ठ्यारो बाटोका कारण शवलाई हिजो साँझ आधिबाटोसम्म मात्र ल्याउन सकिएको थियो भने आज बिहानदेखि तलतर्फ लैजाने काम जारी छ। खराब मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेपछि शवलाई बाटो हुँदै तल ल्याएर हेलिकोप्टरमार्फत पठाउने तयारी भइरहेको छ।

खतरनाक भिरालो भूभाग, अवरोधपूर्ण बाटो र प्रतिकूल मौसमबीच पनि नेपाली सेनाले अनुशासन, संयमता र द्रुत निर्णय क्षमता प्रदर्शन गर्दै उद्धार कार्य सम्पन्न गरेको गुल्मपति तिमिल्सेनाले बताए। स्थानीय बासिन्दा र यात्रुहरूले सेनाको यो मानवीय र पेशागत कार्यको प्रशंसा गर्दै संकटका बेला नेपाली सेनाको भूमिका अनुकरणीय रहेको बताएका छन्। नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाले पनि सेनाको योगदानलाई उच्च मूल्यांकन गरेका छन्।

Advertize US