
डार्बिन (अष्ट्रेलिया) – टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको छ।

शुक्रबार दिउँसो भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो। डार्सी शर्टले ३४ बलमा ७ चौका र १ छक्कासहित ५१ रन बनाए। टम एन्ड्रयूजले ३२, जोर्डन सिल्कले १९, कोनोर कारोलले १८, काडेल म्यामोहनले १२ र जेक वेथाराल्डले ११ रन जोडे।
नेपालका बलरमध्ये सन्दीप लामिछानेले ३ विकेट लिए भने शाहब आलमले २, रुपेशकुमार सिंह, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले समान १–१ विकेट लिएका थिए।


१७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमै सीमित रह्यो। कुशल मल्लले ३४, गुलशन झाले २६, कप्तान रोहित पौडेलले २३, दीपेन्द्रसिंह ऐरीले १९ र आसिफ शेखले ११ रन बनाए। अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्।
टेरिटोरीका म्याट ह्यामन्डले ३ विकेट लिए भने केन रिचार्डसन र टम एन्ड्रयूजले समान २–२ विकेट, हामिश मार्टिन र डार्सी शर्टले समान १–१ विकेट हात पारे।
यो जितसँगै नर्दन टेरिटोरीले सिरिजमा २ अंक जोडेको छ। अब नेपालले शनिबार हुने दोस्रो खेलमा बंगलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।
































