
आगामी मङ्सिर १ र २ गते हुने सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको तयारी स्वरूप प्रदेश सरकारले काठमाडौंमा नेपाल सरकारका उच्च अधिकारी, लगानीकर्ता, उद्योगी–व्यवसायी तथा सरोकारवालासँग छलफल गरेको छ। सम्मेलनलाई सफल बनाउन र लगानीकर्तालाई प्रदेशतर्फ आकर्षित गर्न यस किसिमको अन्तरक्रिया आयोजना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीले जनाएको छ।

कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले खनिज, जडिबुटी, पर्यटन, पस्मिना, पशुपालन र उद्योगजस्ता क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशलाई विकासका मार्गमा अघि बढाउन संघीय सरकारसहित सबै निकायको सहकार्य अपरिहार्य रहेको बताए। उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आवश्यक पूर्वाधार र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याए।

‘दीर्घकालीन समृद्धि र प्रदेशको समग्र विकास हाम्रो मुख्य लक्ष्य हो,’ मुख्यमन्त्री शाहले भने, ‘तपाईँहरू लगानी गर्नुस्, पूर्वाधार निर्माणदेखि उद्योग व्यवसायसम्मको बाटो सहज बनाउन प्रदेश सरकारले जिम्मा लिनेछ।’

अन्तरक्रिया कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पनि सुदूरपश्चिमलाई लगानीको महत्वपूर्ण गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे। उनले नेपालमा आयात हुने सामान उपभोगका लागि परीक्षण गरेर मात्र भित्र्याइने व्यवस्था लागू भइरहेको जानकारीसमेत दिए।




















