
आज दिउँसो देशभर बदली रहने, पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा र कोशी, गण्डकी तथा सुदूरपश्चिमका केही भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।


बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय भएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहने छ। विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जोखिम छ।
महाशाखाले वर्षाका कारण पहिरो, डेब्रिज फ्लो, ठूला–साना नदीनाला तथा खोलाहरूको पानी बढ्ने सम्भावना रहेको बताउँदै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ। यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको जनाइएको छ।































