
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि कांग्रेसभित्र चर्को असन्तुष्टि देखिएको छ। नेताहरूले अभिव्यक्तिको स्वतन्त्रता हनन भएको र सरकारमा सहभागी कांग्रेस पार्टीभित्र यसबारे छलफल नै नगरी निर्णय भएको भन्दै आपत्ति जनाएका हुन्।

बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको भन्दै पार्टीले तुरुन्त धारणा बनाउनुपर्ने बताएका थिए। उनले सर्वोच्च अदालतले कानुन बनाउन भनेको प्रसङ्ग उठाउँदै सरकारको निर्देशनले मात्र प्लेटफर्म बन्द गर्नु गलत भएको बताए।
थापासहित सहमहामन्त्री महेन्द्र यादव, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, बालकृष्ण खाणलगायत नेताहरूले पनि बन्द गर्ने निर्णय नीतिगत रूपमा गलत रहेकोमा जोड दिए। उनीहरूले सामाजिक सञ्जाल नागरिकको दैनिक जीवनसँग गहिरो सम्बन्ध भएको भन्दै बन्द गर्दा व्यावहारिक असर पर्ने बताएका थिए।


सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नियमन आवश्यक भए पनि बन्द गर्नु उचित नभएको बताइन्। निधि र केसीले प्रविधि नियमनको नाममा स्वतन्त्रतामाथि अंकुश लगाउन कांग्रेस सहमत हुन नसक्ने बताए।
नेताहरूको असन्तुष्टिपछि सभापति शेरबहादुर देउवाले छिट्टै बैठक बोलाएर मन्त्री र नेतासँग छलफल गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।




























