
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘जेनजी’ (Gen Z) युवाहरूले आह्वान गरेको सामाजिक सञ्जाल बन्द र विरोध सम्बन्धी आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन्।

गत वर्ष चैत १५ मा राजतन्त्र पुनर्स्थापना गर्दै काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँमाथि अझै मुद्दा चलिरहेको छ। धरौटीमा रिहा भएका उनी यसपटक भने युवाहरूको आन्दोलनमा शान्तिपूर्ण रूपमा सहभागी हुने बताएका छन्।
प्रसाइँले फेसबुकमा आफ्नो सहभागिता जनाउँदै भनेका छन्, ‘देश र नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु। गत चैत १५ जस्तो दमन सरकारले नगरोस्।’ उनका पोस्टमा धेरैले कमेन्टमार्फत यस आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन्।


जेनजी समूहले भोलि सोमबार प्रदर्शनको तयारी गर्दै सामाजिक सञ्जालमा क्याम्पेन गरिरहेका छन्। संघर्ष समिति र सहभागीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने शर्तसहित आन्दोलन अघि बढाउने तयारी गरेका छन्।
विश्लेषकहरूले यस घटनालाई पछिल्लो पुस्ताको राजनीतिक चेतना र सामाजिक सक्रियताको उदाहरणका रूपमा हेरिरहेका छन्।





























