
जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २:३० बजेदेखि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडानका लागि बन्द रहने भएको छ।

बुद्ध एयरले सूचना जारी गर्दै परिस्थितिवश आन्तरिकतर्फका सबै उडान स्थगित भएको जानकारी दिएको छ। यात्रुको असुविधाप्रति खेद प्रकट गर्दै टिकट काटेकाको पैसा फिर्ता गरिने कम्पनीले जनाएको छ।

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ।

सङ्घले थप विज्ञप्ति जारी गर्दै हाल सञ्चालनमा रहेका हेलिकप्टरले कुनै पनि राजनीतिज्ञ वा मन्त्रीलाई सेवा नदिएको स्पष्ट पारेको छ।




















