
भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध भइरहेको जेनजी आन्दोलनले नयाँ नेपाल निर्माणको लक्ष्य नजिक पुगेको दाबी गर्दै आन्दोलनलाई शान्तिपूर्ण र अनुशासित रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रम संयोजक पुरुषोत्तम यादवले मंगलबार जारी विज्ञप्तिमा आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्तिमा तोडफोडलाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले यस्ता गतिविधि गर्नेहरू आन्दोलनसँग सम्बन्धित नभएको बताउँदै सहभागीहरूलाई सचेत रहन र समाजमा सचेतना फैलाउन आग्रह गरेका छन्।

विज्ञप्तिमा केही तत्वहरूले आन्दोलनलाई असफल बनाउन तोडफोड र लुटपाट गर्ने प्रयास गरिरहेको भन्दै त्यस्ता कार्य अस्वीकार्य हुने उल्लेख छ। साथै, आन्दोलनमा सहभागी धेरै साथीहरू घर फर्किसकेको जानकारी दिँदै आन्दोलन शान्तिपूर्ण बाटोमै अघि बढ्ने पुनः पुष्टि गरिएको छ।

यसैबीच, नेपाली सेनाले पनि सम्बन्धित पक्षलाई वार्तामा आउन आह्वान गरेको छ। सेनाको आह्वानपछि जेनजीले बुधबार वार्ताको चरणमा प्रवेश गर्ने घोषणा गरेको हो।































