
सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ निर्णय गरेको छ। बैठकको अध्यक्षता मुख्यसचिव एकनारायण अर्यालले गरेका थिए। बैठकले सरकारी कर्मचारीले बैठक भत्ता नलिने, सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने, राष्ट्रिय स्तरका सबै गोष्ठी–कार्यक्रम सरकारी भवनमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना, उपकरण, सवारी साधन तथा फर्निचरको यथार्थ विवरण तयार पारेर तत्काल मर्मत–सम्भार अगाडि बढाउन निर्देशन दिएको छ। आवश्यक परेमा नयाँ खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ। क्षतिलाई सम्बोधन गर्न विस्तृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालयले तत्काल कार्य प्रारम्भ गर्ने निर्णय पनि गरिएको छ।

सिंहदरबार सचिव बैठकका २१ निर्णयको संक्षिप्त सूची यस प्रकार छ:

-
बैठक भत्ता खारेज।
-
सार्वजनिक खर्चमा मितव्ययिता।
-
सरकारी गोष्ठी/कार्यक्रम सरकारी भवनमा मात्र।
-
अनावश्यक प्रवेश पास खारेज।
-
नयाँ प्रवेश पास आवश्यक परे मात्र जारी।
-
चुनावका लागि राष्ट्रसेवक कर्मचारी सक्रिय।
-
अत्यावश्यक सेवा अवरूद्ध नहुने।
-
अस्थायी कार्यालय/स्थानान्तरण/भाडा कार्यालय व्यवस्था।
-
क्षतिग्रस्त संरचना र उपकरणको विवरण तयार पार्ने।
-
क्षतिलाई सम्बोधन गर्न कार्ययोजना तयार।
-
पोस्ट डिजास्टर एसेसमेन्ट।
-
पुनर्निर्माण/मर्मत सम्भार र खरिद कार्य अगाडि बढाउने।
-
क्षतिग्रस्त सामान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सार्ने।
-
सार्वजनिक खरिद ऐन/नियमावली संशोधन आवश्यक परे।
-
खर्चमा मितव्ययिता र टुक्रे आयोजना रोक।
-
स्वदेशी उत्पादनलाई प्राथमिकता।
-
सेवा प्रवाह छिटो र प्रभावकारी बनाउने।
-
रिक्त दरबन्दी पूर्ति।
-
जनतालाई आवश्यक सामग्री आपूर्ति, बजार अनुगमन।
-
सार्वजनिक यातायात व्यवस्थापन।
-
चोरी/लुटिएका सामान फिर्ता आउन सार्वजनिक आह्वान।





























