
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डस्थित तुइन खोलामा शुक्रबार साँझ ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार झण्डै १०० मिटर माथिबाट खसेको पहिरो रातभर रोकिएन, जसका कारण तत्काल सफाइ कार्य सम्भव भएन।

बिहान उज्यालो भएसँगै दुवैतर्फबाट लोडर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु भएको छ भने नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको स्काभेटर पनि परिचालन गरिएको छ। लामिछानेका अनुसार थप पहिरो नखसे करिब चार घण्टाभित्र सडक खुल्न सक्ने अनुमान गरिएको छ।

शुक्रबार दिउँसो पटक–पटक पहिरो खसेर सडक सफा गरिएको थियो तर साँझपछि पुनः अवरुद्ध हुँदा यात्रुहरू रातभर सडकमै अल्झिन बाध्य भए। पहिरो खसेको स्थान मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।





























