
एसिया कप क्रिकेट २०२५ को सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच विकेटको शानदार जित हात पारेको छ। गएराति सम्पन्न खेलमा टस जितेर फिल्ड रोजेको पाकिस्तानले श्रीलंकाले दिएको १३४ रनको लक्ष्य १८ ओभरमै भेट्टाएको हो।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले २० ओभर पूरा गर्दै ८ विकेटको क्षतिमा १३३ रन बनायो। उसका लागि कामिन्दु मेन्डिसले ४४ बलमा अर्धशतक बनाउँदै ५० रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। पाकिस्तानका शाहिन शाह अफ्रिदीले प्रभावशाली बलिङ गर्दै तीन विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका साहिबजादा फारहानले २४, फखर जमानले १७ र हुसेन तलताले ३२ रन बनाए। तर, जितको आधार मोहम्मद नवाज बने, जसले २४ बलमा नटआउट ३८ रन जोडे।

यस जितसँगै पाकिस्तानले सुपर फोरमा दुई अंक जोडेको छ। यसअघि पहिलो खेलमा पाकिस्तान भारतसँग ६ विकेटले पराजित भएको थियो। सुपर फोर अन्तर्गत आज भारत र बंगलादेश आमनेसामने हुँदैछन्।




























