
बडादसैंको नवरात्रअन्तर्गत छैटौँ दिन आज देवी कात्यायनीको पूजा गरी मनाइँदैछ। अष्टमातृकाको छैटौँ रूप मानिने कात्यायनी रोग, शोक, भय, दुःख र दरिद्रता नाश गर्ने शक्ति भएकी देवीका रूपमा पूजिन्छिन्। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट उत्पन्न भएकी उनी महिषासुर वध गरेर धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी थिइन्।
चार हातसहित सिंहवाहिनी स्वरूपमा चित्रण गरिएकी कात्यायनीको वर्ण स्वर्ण जस्तै उज्यालो छ। दाहिने हातमा अभय र वर मुद्रासहित, बायाँ हातमा तरवार र कमल रहेका छन्। उनलाई अमोघ फलदायिनी र नारीशक्तिको प्रतीक मानिन्छ।
यस दिन बेलको फेदमा जागरण गर्ने परम्परा छ भने भक्तजनले देवीको भक्ति गर्दा अर्थ, धर्म, काम र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। समकालीन दृष्टिले पनि कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा स्मरण गरिन्छ।
आज देशभरका शक्तिपीठहरू—गुह्येश्वरी, दक्षिणकाली, मैतीदेवी, तलेजु भवानी, भद्रकालीलगायतमा विशेष पूजा आराधना भइरहेको छ। परम्पराअनुसार, पूजनमा देवीको प्रतिमा, फूल, कलश, फलफूल, धूप–दीप, पञ्चामृत र मन्त्रजप आवश्यक हुन्छ। आरतीपछि प्रसाद ग्रहण गर्दै भक्तजनले शान्तिपूर्ण वातावरणमा पूजा सम्पन्न गर्छन्।
