
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कुनै खेल नभएपनि सोमबारदेखि फेरि दुई रोमाञ्चक खेलहरूको आयोजना गरिँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान ११:४५ बजेदेखि जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच पहिलो खेल सुरु हुनेछ। दिउँसो ४ बजेदेखि भने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले आमने-सामने हुनेछन्।

यसैबीच, लिग तालिकामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार-चार अंकका साथ अगाडि छन्। काठमाण्डु गुर्खाज दुई अंकले तेस्रो स्थानमा छ भने लुम्बिनी, चितवन र कर्णालीले पनि दुई-दुई अंक जोडेका छन्। जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स अहिलेसम्म अंकबिहीन रहेका छन्।

मङ्सिर १ देखि सुरु भएको यो प्रतियोगिता २७ गतेसम्म जारी रहनेछ। नेपाल क्रिकेट सङ्घले प्रत्येक खेलको लागि ९,४५० वटा टिकट बिक्री गर्दै आएको छ। क्रिकेटप्रेमीहरूले टिकट किन्न र खेल हेर्न झन् झन् रुचाउँदै गएकोले स्टेडियममा राम्रै भीड लागेको छ।

































